• Menu

अन्तरदेशीय डिजिटल भुक्तानीमा हामी धेरै अगाडि बढिसक्यौं : गभर्नर अधिकारी

नेपाल प्रफिट

२०८१ असार २५, २१:५०

अन्तरदेशीय डिजिटल भुक्तानीमा हामी धेरै अगाडि बढिसक्यौं : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल अन्तरदेशीय डिजिटल भुक्तानीमा धेरै अगाडि बढिसकेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तर्क्रियामा सहभागी उद्योगी व्यवसायीले अन्तरदेशीय भुक्तानीको समस्या दर्शाएपछि गभर्नरले नेपालले डिजिटल भुक्तानीमा धेरै काम गरिसकेको बताएका हुन् ।

भारतीय पर्यटकले नेपालमा क्यूआरमार्फत ५०औं करोडको भुक्तानी गरिसकेको उनले जानकारी दिए । नेपालले पनि चीन, सिंगापुर, श्रीलंकालगायतका देशमा जाँदै चाँडै डिजिटल भुक्तानी गर्न सक्ने गरी सम्झौताको तयारी भइरहेको उनले बताए ।

‘अलि पे सँग चाँडै नै सम्झौता हुँदैछ, त्यसपछि चीन, सिंगापुरलगायतका देशमा खुला भइहाल्छ,’ उनले भने, ‘लंका पे सँग पनि गर्छौं ।’

चालु पुँजी कर्जाका सन्दर्भमा उद्योगी अन्योलमा देखिएपछि गभर्नर अधिकारीले स्पष्ट पारिदिएका छन् । ‘एक करोडभन्दा साना व्यवसायीलाई वर्किङ क्यापिटल गाइडलाइन आकर्षित नै हुँदैन,’ उनले भने, ‘कुटिर उद्योग भए तीन करोड सम्मलाई लाग्दैन, यसमा अन्योलमा नपर्नुहोला ।’

बैंकले लिने ब्याजमा सहुलियत दिनुपर्ने उद्योगी व्यवसायीको मागमा उनले पहिल्यै त्यस्तो व्यवस्था भएको जानकारी दिए । ‘एक करोडसम्म पुँजी भएका व्यवसायी र स्वदेशी कच्चापदार्थ मात्र प्रयोग गर्ने उद्योगलाई २ प्रतिशतभन्दा बढी प्रिमियम नलिन बैंकलाई सर्कुलर नै गरेका छौं,’ उनले भने, ‘उद्योगीले यो सुविधाबाट लाभ लिनुपर्छ ।’

राष्ट्र बैंकले कस्तो मौद्रिक नीति आउँदैछ भनेर भन्न नमिल्ने उनले स्पष्ट पारे । ‘यति हो, हामी उपयुक्त नीति लिन्छौं, अर्थतन्त्रलाई ध्यानमा राखेर नीति तय गर्छौं,’ गभर्नर अधिकारीले भने, ‘कोभिडका बेला पनि राष्ट्र बैंकले लिएको नीतिले नै अर्थतन्त्र जोगाएको हो ।’

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादनमूलक उद्योगको क्षमता बढाउन राष्ट्र बैंकबाट कर्जामा सहयोग हुनुपर्ने माग गरे । ‘मागमा आएको संकुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको छ भने त्यसलाई सम्बोधन गरिनुपर्छ,’ उनले भने, ‘लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो ।’

पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र भएकाले पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने ढकालले बताए । ‘यसमा कर्जा प्रवाह सहज र सुलभ गरिनु उपयुक्त हुन्छ,’ उनले भने ।

नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेका तथा पुराना लगानीकर्ताले लगानी बढाउन र नयाँ व्यवसायीले नयाँ लगानी गर्न नसकेकोतर्फ उनले गभर्नरको ध्यानाकर्षण गराए ।

‘अहिलेको अवस्थामा उद्योग व्यवसाय बन्द गर्नुपरेमा साँवाब्याजको किस्ता तिर्ने प्रतिबद्धता भएका उद्योग बन्द गर्न पाउने व्यवस्था गरी सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ,’ उनले भने । कर्जा चुक्ता गरिसकेपछि पनि ऋणीलाई लामो समयसम्म कालोसूचीमा राख्ने व्यवस्थाले पनि व्यवसायीलाई निरुत्साहित गरेको उनले स्पष्ट पारे ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मौद्रिक नीतिले घरजग्गा र सेयर बजारलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गा र सेयर बजारको निकै ठुलो भूमिका रहने मैले पाएको छु,’ उनले भने ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले निजी क्षेत्रको उन्नति भयो भने बैंकिङ आफैं राम्रो हुने तर्क गरे । ‘अहिले बैंकिङ क्षेत्र धेरै समस्यामा छ, आरओई घटेको छ, इस्यु धेरै छन्,’ उनले भने, ‘म त व्यवसायी र बैंकर बसेर गहन छलफल गर्नुपर्ने देख्छु ।’