• Menu

गलत तथ्य पेस गरेको प्रमाणित भए रिलायन्स स्पिनिङ मिल्सका सञ्चालकलाई हुनसक्छ २ वर्ष जेल सजाय

गलत तथ्य पेस भएको छैन, हरेक बुँदाको उत्तर दिन तयार छौं : अग्रवाल

नेपाल प्रफिट

२०८१ असार २५, ११:१२

गलत तथ्य पेस गरेको प्रमाणित भए रिलायन्स स्पिनिङ मिल्सका सञ्चालकलाई हुनसक्छ २ वर्ष जेल सजाय

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा गलत विवरण पेस गरेको प्रमाणित भएमा रिलायन्स स्पिनिङ मिल्सका सञ्चालकलाई दुई वर्षसम्म जेल सजाय हुनसक्ने देखिएको छ ।

धितोपत्र ऐनको दफा ९७ ले कसैले धितोपत्र किन्न उक्साउने उद्देश्यले अनुमानित विवरणहरु प्रकाशित गरेमा त्यस्तो कार्यलाई झुक्याउने कार्य भनेर परिभाषित गरेको छ । कसैले धितोपत्र किन्न उक्साउने उद्देश्यले अनुमानित विवरणहरु प्रकाशित गरेमा त्यस्तो कार्यलाई झुक्याउने कार्य भनेर ऐनले दण्डनीय मानेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले सेयर किन्न उक्साउने उद्देश्यले सेयर निष्कासनको अनुमति लिने क्रममा उच्च प्रतिसेयर आम्दानी देखाएर अहिले स्वीकृति प्राप्त गरिसकेपछि न्यून प्रतिसेयर आम्दानी प्रकाशित गरेको आरोप लागेको छ ।

धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेपछि प्रकाशित गरेको विवरणमा गलत तथ्य भेटिएपछि रिलायन्सको सेयर निष्कासन विवादमा परेको सेयर बजार विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । धितोपत्र बोर्डले यसमाथि अनुसन्धान गर्ने र कारबाहीको दायरामा ल्याउने हो भने धितोपत्र ऐनको दफा १०१ अनुसार रिलायन्स स्पिनिङ मिल्सका सञ्चालकहरु दुई वर्षसम्म जेल जान सक्ने उनले बताए ।

मुलुकको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको अध्यक्ष पवनकुमार गोल्यान र निर्देशक अर्का उद्योगी शशीकान्त अग्रवाल हुन् । प्रबन्ध निर्देशक अक्षय गोल्यान छन् । सुनसरीको दुहबीमा रहेको उद्योगको गोल्यान र अग्रवाल संस्थापक सेयरधनी हुन् ।

लगानीकर्तालाई क्षतिपूर्ति दिनुपर्ने

विवरणपत्रमा गलत विवरण लेखिएको भए लगानीकर्तालाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि ऐनले गरेको छ । विवरणपत्रमा लेखिएको कुराको जवाफदेहीका सम्बन्धमा ऐनले स्पष्ट व्यवस्था गरेको हो ।

ऐनको दफा ३३ को उपदफा (१) अनुसार ‘बोर्डमा धितोपत्र दर्ता गराई निष्कासन अनुमति प्राप्त गर्ने प्रयोजनका लागि बोर्डसमक्ष पेस गरिएको विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारीसम्बन्धी कागजातहरुको सत्यताप्रति सम्बन्धित संगठित संस्था र सो विवरणपत्रमा सहीछाप गर्ने सञ्चालक तथा त्यस्तो विवरणपत्र तयार गर्ने विशेषज्ञले व्यक्तिगत वा सामूहिक रुपमा जवाफदेही वहन गर्नुपर्ने’ हुन्छ ।

उपदफा (२) ले लगानीकर्तालाई क्षतिपूर्ति दिनेसम्बन्धी व्यवस्था गरेको छ । उपदफा (२) मा भनिएको छ ‘कुनै व्यक्तिले विवरणपत्रमा लेखिएका कुराहरुमा विश्वास गरी धितोपत्र खरिद गरिसकेपछि विवरणपत्रमा लेखिएका कुराहरु बदनियतसाथ वा जानीजानी झुठो वा गलत उल्लेख गरिएको कारणबाट लगानीकर्तालाई कुनै हानी नोक्सानी भएमा उपदफा (१) बमोजिमको संस्था, सञ्चालक वा विवरणपत्र तयार गर्ने विशेषज्ञहरुले त्यस्तो नोक्सानीको क्षतिपूर्ति व्यहोर्नुपर्नेछ ।’

तर, विवरणपत्रमा लेखिएका कुरा बदनियतसाथ वा जानीजानी निर्णय गर्नुअगावै राजीनामा दिने वा विवरणपत्र झुटो भएको कुरा थाहा थिएन भनी प्रमाणित गर्ने सञ्चालकले त्यस्तो क्षतिपूर्ति व्यहोर्नुपर्ने छैन ।

संगठित संस्थाले बोर्डमा पेस गरेको विवरणपत्र, सूचना, जानकारी वा विवरण झुटा भएको कारण कुनै लगानीकर्तालाई हानी नोक्सानी परेमा क्षतिपूर्ति भराई माग्न लगानी गरेको एक वर्षभित्रमा आफूलाई थाहा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा उजुर गर्न सक्ने व्यवस्था सोही दफाको उपदफा ३ ले गरेको छ ।

रिलायन्सबाट गलत तथ्य पेस भएको छैन, प्रमाणित भए कारबाही भोग्न तयार छौं : अग्रवाल

रिलायन्सका निर्देशक शशीकान्त अग्रवालले भने प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । बिजुली आपूर्तिमा भएको अवरोध र विश्वव्यापी मन्दीका कारण उत्पादन प्रभावित भएकाले प्रतिसेयर आम्दानी खुम्चिएको उनले बताए ।

प्रतिसेयर आम्दानीमा त्यति ठुलो अन्तर कसरी देखियो भन्ने प्रश्नमा उनले भने, ‘उत्पादन घटेपछि आम्दानी त घटिहाल्छ नि ! आम्दानी घटेपछि ईपीएस पनि घट्छ ।’

चौथो त्रैमासिक विवरण आउँदा धेरै सुधार भएर आउने अग्रवालको भनाइ छ । ‘अहिले व्यापार पनि बढेको छ, बिजुलीको इस्यु पनि आएन भने अबको रिपोर्टमा सुधार भएर आउँछ,’ उनले भने ।

सञ्चालकहरुले गलत विवरण पेस गर्दा अडिटरलाई पनि कारबाही हुने भएकाले उनीहरुले त्यस्तो विवरण स्वीकृत नै नगर्ने उनले तर्क गरे ।

‘अर्को कुरा धितोपत्र बोर्डले पनि धेरै अध्ययन अनुसन्धानपछि आईपीओ निष्कासनको अनुमति दिएको छ,’ अग्रवालले भने, ‘यसमा बदमासी हुने सम्भावना छैन । हामी हरेक बुँदामा उत्तर दिन तयार छौं । धितोपत्र बोर्डको सबै अनुसन्धानमा सहयोग गर्न तयार छौं ।’

खातामा हुनुपर्छ ४१ हजार ४० रुपैयाँ

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणका लागि आईपीओ बिक्रीको अनुमति दिएको छ । सेयर मूल्य बुक बिल्डिङ विधिमार्फत तय भएको हो ।

बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्ताले कुल निष्कासनको ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर किनेका हुन् । योग्य संस्थागत लगानीकर्ताले बोलकबोलबाट सेयर किन्न विभिन्न मूल्य तोकेका थिए, जसबाट कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निस्किएको थियो । यही मूल्यका आधारमा सर्वसाधारणलाई बिक्री गरिने सेयरको मूल्य १० प्रतिशत घटाएर ८२० रुपैयाँ ८० पैसा तोकिएको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोडको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६ सय कित्ता सेयर जारी गर्दैछ । वैदेशिक रोजगारीमा गएकाहरूका लागि असार २७ देखि आईपीओमा आवेदन खुला गरिएको छ ।

कम्पनीले बाँकी ६० प्रतिशत (११ लाख ५५ हजार ९६० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, स्थानीय प्रभावितलगायत सर्वसाधारणलाई वितरण गरिने जनाएको छ ।

आईपीओमा आवेदन दिन सर्वसाधारण लगानीकर्ताले कम्तीमा ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।