• Menu

नेप्सेमा ३३ प्रतिशत गिरावट आउँदा युनिलिभरको सेयर मूल्य भने २० हजारबाट ४५ हजार पुग्यो, कसरी ?

नेपाल प्रफिट

२०८१ असार २४, १३:२३

नेप्सेमा ३३ प्रतिशत गिरावट आउँदा युनिलिभरको सेयर मूल्य भने २० हजारबाट ४५ हजार पुग्यो, कसरी ?

काठमाडौं । २०७८ भदौ २ गते नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३२१८.८६ पुग्दा पुँजीबजारकै सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी युनिलिभर नेपाल प्रतिकित्ता २० हजार २५० रुपैयाँमा कारोबार हुँदै थियो ।

कारोबार बन्द हुँदा नेप्से परिसूचक ३१९८.६ अंकमा कायम रह्यो भने युनिलिभर नेपालको सेयर मूल्य २० हजार रुपैयाँमा झर्‍यो ।

नेपालको सेयर बजारको इतिहासमा नेप्से परिसूचकले सर्वाधिक उचाइ बनाएको दिनबाट आइतबार (असार २३) मा बजार ३३.०७ प्रतिशतले घटेर २१४०.९७ अंकमा झरेको छ । बजार विगतमा ३८ प्रतिशतसम्म घट्यो । तर, सेयर बजारकै महँगो सेयर मूल्य भएको कम्पनी युनिलिभरको मूल्य भने लगातार बढिरहेको छ ।

युनिलिभरको मूल्य भने यो अवधिमा १२५ प्रतिशतले बढेर प्रतिकित्ता ४५ हजार रुपैयाँ (असार २३) पुगेको छ ।

नेप्से परिसूचकले सर्वाधिक उचाइ बनाएको एक वर्षपछि कम्पनीको मूल्य २०७९ असोज ११ मा १७ हजार ४०० रुपैयाँमा झरेको थियो । त्यसबेला परिसूचक करिब ३८ प्रतिशतले घटिसकेको थियो ।

तर, ६ महिनापछि २०७९ चैत ८ मा २० हजार ९१० प्रतिकित्ता रहेको युनिलिभरले त्यसको भोलिपल्ट २१ हजार अंक पार गर्‍यो । त्यसपछि लगातार बढेर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ हजारमाथि पुगेको छ ।

तीन वर्षदेखि सेयर बजार दुई हजार अंक आसपास घुमिरहँदा (साइडवेज) युनिलिभरको सेयर मूल्य भने १२५ प्रतिशतले बढेको हो ।

सेयर बजारका जानकारहरु कम्पनीले दिने प्रतिफलले त्यसको मूल्य निर्धारण गर्ने बताउँछन् । प्रतिफलकै कारण यो कम्पनीको सेयर मूल्य बढेको उनीहरुको तर्क छ ।

युनिलिभरले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई २०८० मा १५ सय ८० रुपैयाँ नगद लाभांश बाँडेको थियो । यो लाभांश कम्पनीले २०८० असोज २९ मा घोषणा गरेको थियो ।

त्यस्तै आव २०७८/७९ को नाफाबाट २०७९ मा १२ सय १५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । २०७९ कात्तिक १७ गते लाभांश घोषणा गरेको कम्पनीको सेयर मूल्य त्यसको पाँच महिना पछिदेखि (चैत) उचालिन थालेको हो ।

त्यसअघिको वर्षमा भने कम्पनीले ६५० प्रतिशत लाभांश बाँडेको थियो । विगतमा १२५० र १०२० रुपैयाँसम्म लभांश बाँडेका बेला २०७४, २०७५ ताका पनि कम्पनीको सेयर मूल्य ३६ हजार रुपैयाँसम्म पुगेको थियो । २०७७ सालमा भने कम्पनीले १०० रुपैयाँ मात्र बाँडेको थियो । त्यसबेला लगानीकर्ता धेरै निराश भएको कम्पनीको सेयर मूल्यले देखाउँछ ।

प्रतिकित्ता २ हजार रुपैयाँमाथि मूल्य भएका १० कम्पनी (असार २३)

युनिलिभर नेपाल ४५,०००

बोटलर्स नेपाल (बालाजु) १५,८५१.८०

राष्ट्रिय बिमा कम्पनी १३,१११

बोटलर्स नेपाल (तराइ) १२,७००

साल्ट ट्रेडिङ कर्पोरेसन ४,९००

विशाल बजार कम्पनी ४,०५०

समाज लघुवित्त ३,१००

आत्मनिर्भर लघुवित्तको प्रतिकित्ता सेयर मूल्य २,४१४.८०

नेस्डो समृद्ध लघुवित्त २,०३९

युनिक नेपाल लघुवित्त २,०३९