• Menu

सूचना प्रविधिको विकासमा सहकार्यका लागि ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सम्झौता

नेपाल प्रफिट

२०८१ असार २४, १०:२८

सूचना प्रविधिको विकासमा सहकार्यका लागि ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास-आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकको रुपमा रहेको र ग्लोबल आईएमई बैंक पनि सदैव राज्यप्रति उत्तरदायी संस्थाको रुपमा रहेकाले यो सम्झौता अघि बढेको ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा समेत उनले जनकारी दिए । नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा यो सम्झौता कोसेढुंगा सावित हुने उनको विश्वास छ ।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयबाट भौतिक रुपमा बैंकिङ सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल युनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ ।

‘बैंकबाट प्रत्यक्ष रुपमा ४८ लाखभन्दा बढी ग्राहकले उत्कृष्ट बैंकिङ सुविधा प्राप्त गर्नु बैंकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नवीनतम् प्रविधिमा आधारित सेवा तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रुपमा समेत लिन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंकका सेवाग्राहीलाई छिटो र सजिलोसँग उत्कृष्ट सेवा उपलब्ध गराउनु बैंकले सूचना प्रविधिमा अंगालेको नीतिको रुपमा लिन सकिन्छ ।

यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास-आईटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीका लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

साथै एक-आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रम आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरुको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक नास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंक र नास-आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।