काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा भएको परिवर्तनका कारण मूल्य समायोजन गरिएको साइमेक्स इंकले जनाएको छ ।
सरकारले विद्युतीय सवारी साधनमा मोटर क्षमताका आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ । नयाँ नीतिअनुसार अन्य विद्युतीय गाडी जस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा प्रभाव परेको हो ।
नयाँ मूल्य सूचीअनुसार बीवाईडी एटो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एटो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य बढेको छ ।
त्यसैगरी बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजारबाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसको मूल्य १ लाख ३५ हजार रुपैयाँ वृद्धि भएको छ । बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ । यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ ।
साइमेक्स इंकले नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बीवाईडी हाल न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै अग्रणी सवारी साधन उत्पादक मानिन्छ ।
गुणस्तर, विश्वसनिय र अत्याधुनिक प्रविधिका लागि बीवाईडीका सवारी साधन परिचित छन् । बीवाईडी हाल चलिरहेको युरो २०२४ को प्रायोजकसमेत हो ।