• Menu

लगातार चौथो दिन बढ्यो नेप्से, कारोबार रकम पनि उत्साहजनक

नेपाल प्रफिट

२०८१ असार २०, १७:१५

लगातार चौथो दिन बढ्यो नेप्से, कारोबार रकम पनि उत्साहजनक

काठमाडौँ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । अघिल्ला तीन दिनमा ६७ अंकले बढेको नेप्से आज १५.४६ अंकले बढेर २११९.६९ अंकमा उक्लिएको हो ।

आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता सेयर ८४ हजार १२६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यो रकम बुधबारको तुलनामा डेढ अर्ब रुपैयाँले बढी हो । बुधबार ४ अर्ब ९८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंक समूह ०.४८, होटल तथा पर्यटन १.७५, जलविद्युत् ०.२२, लगानी १.८९ र जीवन बीमा १.९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.२४, निर्जीवन बीमा ०.५८, व्यापार ०.४८ र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ ।

आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोड नौ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा एनआईसी एसिया ब्यालेन्स फन्डको ३५ लाख एक हजार दुई सय कित्ता सेयर किनबेच भएको छ ।