• Menu

नेपालगन्जमा घर बिमा कार्यक्रम कार्यान्वयनमा, अब नगरका सबै घरको अनिवार्य बिमा

नेपाल प्रफिट

२०८१ असार १६, १२:५६

नेपालगन्जमा घर बिमा कार्यक्रम कार्यान्वयनमा, अब नगरका सबै घरको अनिवार्य बिमा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० तयार पारेको उपमहानगरले विपद्पछिको पीडा कम गर्न आवासीय घर बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बिमा भएको उल्लेख गर्दै केही सातामा नै बिमाको काम सक्ने गरी काम भइरहेको बताए ।

उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बिमा र जोखिमग्रस्त क्षेत्र आवास बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए । संयोजक सिंहका अनुसार विपद् दुर्घटना बिमामा नगरभित्रका सबै घरको बिमा गरिनेछ ।

जोखिमग्रस्त क्षेत्र आवास बिमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बिमा गर्ने जनाइएको छ । उनले त्यसका लागि झन्डै तीन सय घरधुरी सर्वेक्षण गरिसकिएको उल्लेख गरे ।

उपमहानगरपालिकाले १५ लाखसम्मको बिमा गरिदिने र १५ लाखसम्मको घरको बिमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ ।

१५ लाखको बिमा गर्दा ५८४ रुपैयाँ प्रिमियम पर्छ । त्यसका लागि राष्ट्रिय बिमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बिमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलले बिमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बिमा हुने जानकारी दिए ।

नेपालगन्जका वडा नम्बर ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसैको पहलमा सो काम भइरहेको हो ।

सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको  वडा नम्बर ३ र ७ मा भवनको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती भएकाले घर जीर्ण भएकाले त्यहीँबाट काम अगाडि बढाइएको बताए ।