काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । आज आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ अंकमा झरेको हो ।
आज ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ६१ हजार ५१३ पटक खरिद बिक्री हुँदा चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह १.२३ र होटल तथा पर्यटन समूह १.१० प्रतिशतले घटेको छ ।
बजार घट्दा पनि रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जलविद्युत् र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य ६.५८ र सनराइज ब्लुचिप फन्डको सेयर मूल्य ५.२४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको १७ करोड १३ लाख ५२ हजार ३९१ बराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सको तीन लाख नौ हजार ४४३ कित्ता सेयर किनबेच भएको छ ।