• Menu

पेवेल र सजिलो पे वालेटमार्फत १ खर्ब ८ अर्बको शंकास्पद कारोबार, कहाँ चुक्यो राष्ट्र बैंक सुपरभिजन ?

नेपाल प्रफिट

२०८१ असार ९, १३:०३

पेवेल र सजिलो पे वालेटमार्फत १ खर्ब ८ अर्बको शंकास्पद कारोबार, कहाँ चुक्यो राष्ट्र बैंक सुपरभिजन ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा पेवेल र सजिलो पे वालेटमार्फत १ खर्ब रुपैयाँको कारोबार शंकास्पद देखिएको छ । सीआईबीको अनुसन्धानले दुवै वालेटमार्फत करिब ९० प्रतिशत कारोबार शंकास्पद देखिएको हो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार पेवेलमार्फत ८६ अर्ब र सजिलो पेमार्फत २२ अर्ब रुपैयाँबराबरको शंकास्पद कारोबार भएको छ । ६१ किलो सुन तस्करी प्रकरणमा रकम भुक्तानीका लागि पेवेल र सजिलो पे वालेटको प्रयोग भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अवैध कारोबारमा वालेटका अध्यक्ष र कर्मचारीहरु नै संलग्न रहेको पाइएको छ । पेवेलका अध्यक्षसहित कर्मचारीहरु पक्राउ परेका छन् भने सजिलो पेका अध्यक्ष फरार छन् ।

प्रहरीले पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना र कर्मचारीहरु कश्यप मानन्धर, सुशील बन्जरा, सुरज जबरा र प्रज्वल आचार्यलाई प्रक्राउ गरेको छ । त्यस्तै एजेन्टहरु भैरहवाबाट बलबहादुर कुँवर र बाराबाट अरुणकुमार यादव पनि पक्राउ परेका छन् ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार दुई वालेट कम्पनीले १८ वटा बैंकमार्फत कारोबार गरेका छन् । सिनामंगलबाट २०८० साउन २ गते राति राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो ७७९ ग्राम सुन तस्करी सम्बन्धमा अहिले सीआईबीले पुन: अनुसन्धान गरिरहेको छ ।

सोही अनुसन्धानका क्रममा पेवेल र सजिलो पे वालेटमार्फत रकम भुक्तानी भएको पाइएको हो । सुन तस्करी प्रकरणमा भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा चलाइसकेको छ । प्रतिवादी बनाइएकामध्ये केही थुनामा छन् भने केही फरार छन् ।

कहाँ चुक्यो राष्ट्र बैंक सुपरभिजन ?

पेवेल र सजिलो पे वालेटको कारोबार नियमनका विषयमा राष्ट्र बैंक नराम्रोसँग चुकेको छ ।

वालेटको नियमन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले गर्छ । तर, दुईवटा वालेट कम्पनी अवैध कारोबारमा संलग्न रहेर १ अर्ब ८ अर्ब रुपैयाँ बढी भुक्तान भइसक्दा पनि विभागले थाहा नपाउनुले गम्भीर आशंका बढाएको छ ।

सीआईबीका अनुसार यस विषयमा बैंकहरुले राष्ट्र बैंकमा जानकारी पनि गराएका थिए तर समयमा एक्सन लिएको पाइएन ।

राष्ट्र बैंकले अहिले काठमाडौंको अनामनगरमा कार्यालय रहेको पेवेल नेपाल प्रालि र बालुवाटारमा कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको बैंक खाता रोक्का राखेको छ ।

दुवै वालेटका कारोबारहरु नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेकाले बैंक खाता रोक्का राखिएको विभाग प्रमुख एवं कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।