सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज (बिहीबार) बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ .
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमुना अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगन्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।