एजेन्सी । बन्दुकधारीहरूको आपराधिक समूहले नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेको छ ।
‘लुटेराहरूले आइतबार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेको र केहीलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,’ काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई भनेका छन् ।
अपहरणमा परेकाहरुको संख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताए । कात्सिना प्रहरीले सोमबार एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ । ‘सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरेको, १५ जनाको मृत्यु भएको र दुई जना घाइत भएको विज्ञप्तिमा उल्लेख छ ।
अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए ।
राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्ति जारी गरी ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन् । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गरिने उनले बताए ।
भारी हतियारधारी गिरोहहरूद्वारा आङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीका लागि सामूहिक अपहरण गर्नुका साथै घरहरू जलाउने र लुट्ने काम गर्छन् ।
जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जंगलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेका घटना समाचारमा आएका छन् । उनीहरुले विशेष गरी कात्सिना र जाम्फारा राज्यहरूमा आक्रमणहरू बढाएका छन् ।