• Menu

भरतपुर महानगरका ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा

नेपाल प्रफिट

२०८१ जेठ ३०, बुधबार १०:२९

भरतपुर महानगरका ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा गएको पाइएको छ । महानगरभित्रका ९६ हजार ५९१ घरमध्ये ३४ हजार ५०८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले  जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मंगलबार आयोजना गरेको अन्तर्क्रियामा सो तथ्यांक सार्वजनिक गरिएको हो । हाल ३० हजार ५५५ जना विदेशमा रहेको र ११ हजार २३१ जना नेपाल फर्किएका छन् ।

हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६.१२ प्रतिशत पुरुष र २३.८८ प्रतिशत महिला छन् । वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राह्मण–क्षेत्री परिवारका छन् ।

कार्यपत्रअनुसार ब्राह्मण–क्षेत्री १७ हजार ५६५, आदिवासी जनजाति (पहाडी) आठ हजार ५७२, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ र अरु दलित समुदाय र अन्य समुदायका छन् ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्यांकसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए ।

महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाको तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।