• Menu

धान नबिकेपछि झापाका किसान चिन्तित, व्यवस्थापन गर्न सरकारलाई आग्रह

नेपाल प्रफिट

२०८१ जेठ २९, ०८:११

धान नबिकेपछि झापाका किसान चिन्तित, व्यवस्थापन गर्न सरकारलाई आग्रह

झापा । उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए ।

‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, बिक्री ठप्प छ,’ उनले भने, ‘बाटोमा फाल्नुपर्ने अवस्था आइसकेको छ ।’ खेतमा धान पाकेर अलपत्र परेको उनले बताए ।

धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए । उनले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिए ।

करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष २५० मन धान उत्पादन हुने अनुमान गरेका छन् । ‘सुरुसुरुमा एक हजार दुई सय प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन नौ सयमा झरेको छ,’ उनले भने ।