काठमाडौं । पुँजीबजार सुस्ताएका बेला पनि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा करिब १० अर्ब कर्जा माग भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असारसम्ममा ९ अर्ब ८८ करोडभन्दा बढी सेयर धितो कर्जा प्रवाह भएको हो ।
असारयता सेयर धतो कर्जाको वृद्धिदर १२.३ प्रतिशत छ । असारसम्म ७६ अर्ब ३० करोड सेयर धितो कर्जा प्रवाह भएकोमा चैत मसान्तसम्म आइपुग्दा बढेर ८६ अर्ब १८ करोड नाघेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा केही सहज नीति लिएको छ । सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिएको छ । त्यसको केही प्रभाव बजारमा परेको हो ।
सबैभन्दा बढी असोजमा करिब सवा ३ अर्ब र मंसिरमा सबैभन्दा कम ३ करोड कर्जा प्रवाह भएको छ । साउनमा १ अर्ब ५ करोड, भदौमा १ अर्ब २७ करोड, असोजमा ३ अर्ब ३२ करोड, कात्तिकमा १४ करोड, मंसिरमा ३ करोड, पुसमा ३ अर्ब १० करोड, माघमा ८८ करोड, फागुनमा ५२ करोड र चैतमा ४८ करोड रूपैयाँ सेयर कर्जा प्रवाह भएको छ ।
बैंक वित्तीय संस्थाबाट प्रवाह हुनेमध्ये १ करोडभन्दा माथिको कर्जा प्रवाह हिस्सा ६१.०५ प्रतिशत छ । चैतसम्म कुल ८६ अर्ब १८ करोड कर्जा प्रवाह भएकोमा १ करोडभन्दा ठूलो कर्जा ५२ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी छ ।
असारसम्म १ भन्दा ठूलो कर्जाको हिस्सा ४४ अर्ब ७१ करोड थियो । नौ महिनामा १ करोडभन्दा माथिको कर्जा १७.७ प्रतिशतले बढेको छ ।