एजेन्सी । इटालीका अधिकारीले यौन प्रदर्शनमा सुधार गर्न र मांशपेसी निर्माण गर्न प्रयोग गरिने अवैध भारतीय निर्मित औषधिको २१ लाख खुराक बरामद गरेको बुधबार बताएका छन् । उक्त औषधिको मूल्य दुई करोड युरो रहेको छ ।
वित्तीय अपराध प्रहरीका अनुसार इटालीमा आफ्नै प्रकारको सबैभन्दा ठूलो ढुवानीमा ग्रिसबाट एन्कोनाको एड्रियाटिक बन्दरगाहमा आइपुगेको एक लरीमा ती औषधि भेटिएको थियो ।
इटालीमा कानुनी रूपमा उपलब्ध नभएको औषधिहरूको बरामदले ‘सम्भावित उपभोक्ताको स्वास्थ्यका लागि गम्भीर र तत्कालको खतरा’लाई जोगाएको प्रहरीले बताएको छ ।
भन्सार कागजातमा सौन्दर्य प्रसाधनका रूपमा दर्ता गरिएको ढुवानीमा नपुंसकताका लागि प्रयोग हुने औषधिको १७ लाख खुराक समावेश थिए । त्यहाँ गर्भावस्थालाई बढावा दिने हर्मोन भएको औषधिका चार लाख खुराक पनि थिए ।