• Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा ३८.७५ प्रतिशत वृद्धि

नेपाल प्रफिट

२०८१ वैशाख २८, शुक्रबार ११:१९

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा ३८.७५ प्रतिशत वृद्धि

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास (साउन–चैत)सम्ममा २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७५ करोड ५५ लाख रुपैयाँ छ । गत वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोष र रिटेन्ड अर्निङको आकार क्रमशः १८.१२ प्रतिशत र ५०.२८ प्रतिशतले बढेको छ ।

कम्पनीका अनुसार अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ४१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५० करोड २७ लाख रुपैयाँ थियो ।

कम्पनीले चैत मसान्तसम्म ३ अर्ब ६ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो । कम्पनीको कुल बिमाशुल्क ९९.५३ प्रतिशतले बढेको हो ।

चैतसम्ममा कम्पनीद्ये २ अर्ब ९६ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको यो १०२.८४ प्रतिशत धेरै हो । कम्पनीले गत वर्ष चैतसम्ममा १ अर्ब ४६ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।

सेयर पुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२३५ रुपैयाँ छ। त्यस्तै पीई रेसियो ६१.३१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ छ ।