• Menu

महँगी वृद्धिदर फागुनमा भन्दा कम

नेपाल प्रफिट

२०८१ वैशाख ३०, १३:३१

महँगी वृद्धिदर फागुनमा भन्दा कम

काठमाडौं । २०८० चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार मुद्रास्फीति घटेको छ । फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो ।

गत वर्षको सोही महिनामा मुद्रास्फीति ७.७६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.१० प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

२०८० चैतमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत थियो ।

२०८० चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.९४ प्रतिशत छ । अघिल्लो वर्षकोे सोही महिनामा मुद्रास्फीति ५.५९ प्रतिशत थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ९.६४ प्रतिशत, २.८८ प्रतिशत र १.५६ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२० प्रतिशतले घटेको छ ।