• Menu

नेपालमै बन्न थाले हुन्डाईका कार, लक्ष्मी ग्रुपले गर्‍यो रामग्राममा एसेम्बली प्लान्ट उद्घाटन

नेपाल प्रफिट

२०८१ वैशाख २९, शनिबार २१:३५

नेपालमै बन्न थाले हुन्डाईका कार, लक्ष्मी ग्रुपले गर्‍यो रामग्राममा एसेम्बली प्लान्ट उद्घाटन

काठमाडौं । लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले नवलपरासीको रामग्राममा हुन्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन गरेको छ ।

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी मोटरले शुक्रबार रामग्राममा हुन्डाई मोटर एसेम्बली प्लान्ट उद्घाटन गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सु किम तथा स्थानीय सरकारका जनप्रतिनिधिहरुको उपस्थितिमा प्लान्ट उद्घाटन गरिएको छ ।

कम्पनीका अनुसार ६५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको एलएमसी हुन्डाई मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्गमिटरको भव्य निर्माण क्षेत्र छ ।

‘नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी गर्ने दृढताको उदाहरण हो,’ कम्पनीले भनेको छ, ‘पाँच हजार इकाइको वार्षिक क्षमता भएको यस संरचनाले हुन्डाई मोटर कम्पनी (एचएमसी) को सबै मापदण्डहरुको पालना गर्दै नेपालभर हुन्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ ।’

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाइ छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले नेपाली अटोमोबाइल औद्योगीकरणको विकासमा हुन्डाई नेपालको योगदान र त्यसको फलस्वरूप वृद्धि भएको आर्थिक समृद्धि र रोजगारी अवसरबारे चर्चा गरेका छन् ।

नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास उनले व्यक्त गरे । त्यस्तै उनले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारले पाउने बताए ।

उद्घाटन समारोहपछि प्लान्ट भ्रमणका क्रममा नेपालमा बनेको पहिलो ‘हुन्डाई भेन्यु’ कार प्रदर्शन गरिएको छ । हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टप्रति आफ्नो उत्साह व्यक्त गरे ।

हाल हुन्डाई गाडीका १६ सोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ प्वाइन्ट्ससहित लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष पहुँच कायम राखेको छ ।