• Menu

उखु खेती र कृषिको बृहत्तर विकासमा द नेपाल डिस्टिलरिजको पहल

नेपाल प्रफिट

२०८१ वैशाख २३, आइतबार ०९:२५

उखु खेती र कृषिको बृहत्तर विकासमा द नेपाल डिस्टिलरिजको पहल

काठमाडौं । मधेस प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवर्धन, यसप्रति किसानको आकर्षण वृद्धि र कृषि क्षेत्रको बृहत्तर विकासका लागि द नेपाल डिस्टिलरिज प्रालिले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ ।

द नेपाल डिस्टिलरिज प्रालिको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलको प्राविधिक सहयोगमा धनुषामा उखु खेती प्रवर्धनका लागि सीमान्तकृत समुदायका कृषकको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।

धनुषाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवर्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषाका अगुवा किसानलाई उखु खेती प्रवर्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम नेपाल डिस्टिलरिजले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आयोजना गरेको हो ।

कार्यक्रममा आयोजक द नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादनमात्र नभई यसका बहुआयामिक गुणबारे किसानलाई बुझाइएको र खेतीको विस्तार, प्रवर्धन एवं संरक्षण गर्न आफूहरुले यो कार्यक्रम गरेको बताए ।

‘सन् १९५९ देखि नेपालमा व्यावसायिक रूपमा विश्वप्रिय पेय पदार्थ उत्पादन गर्दै आइरहेको नेपाल डिस्टिलरिजले स्वदेशकै किसानद्वारा स्वदेशी भूमिमा उत्पादित उखुका उत्पादन खपत गर्दै आइरहेको छ,’ उनले भने, ‘रम उत्पादनको महत्वपूर्ण कच्चा पदार्थ मोलासेस उखु हो, यसकारण पनि उखु किसानसँग कम्पनीको प्रगाढ सम्बन्ध छ, हामी यो महत्वपूर्ण सम्बन्धमा जोड दिँदै उखु किसानको समष्टिगत स्तरोन्नतिमा सहयोग पुर्‍याउन सक्रियताका साथ भविष्यमा दीर्घकालीन साझेदारीपूर्ण कार्ययोजना अघि ल्याउन प्रतिबद्ध छौं ।’

कार्यक्रममा मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षौंदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बीउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने तथा उखु खेतीको विकास गर्न मधेसका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

मधेस प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मधेस प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेस प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावनाबारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी मात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिट लगायतका पेय पद्धार्थ बनाउन सकिने प्रस्ट पारे । ‘यसमार्फत अर्बौंको वैदेशिक पेयपदार्थ प्रतिस्थापन गर्दै देशको पुँजी बाहिरिनबाट बचाउन सकिन्छ,’ उनले भने ।

कार्यक्रममा पूर्व कृषि सचिव एवं नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका अध्यक्ष डा. योगेन्द्रकुमार कार्की, काउन्सिलका कार्यक्रम संयोजक नारायण श्रेष्ठ, महेन्द्र पन्त, दिलराज यादव, रामकृष्ण रजक र अनिसुर रहमान अन्सारीलगायतले धारणा राखेका थिए ।

नेपाल डिस्टिलरिज सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो । आईएसओ ९००१ ः २०१५ प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रूचाइने खुकुरी रम उत्पादन गर्छ । यसबाहेक न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ ।

खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, अमेरिका र दुबईलगायतका देशमा निर्यात गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्