• Menu

घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

नेपाल प्रफिट

२०८१ वैशाख १९, बुधबार १४:३९

घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उनी अहिले तरकारी व्यापारमा लागेका छन् ।

आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ लगाउने सेन्चुरी जस्ता मजदुरहरु जीविकाका लागि वैकल्पिक पेसा अपनाउन बाध्य छन् । ‘पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुपर्‍यो,’ मोटरसाइकलमा तरकारी बेच्दै हिँडेका सेन्चुरीले भने, ‘अहिले बिहानदेखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु ।’

पहिले प्रत्येक टोलमा दुई–तीनवटा नयाँ घर बन्ने गर्थे । पेन्टिङको काम भ्याइनभ्याइ हुने गर्थ्यो तर, करिब दुई वर्षयता घर बन्न छाडेको उनले बताए । त्यसपछि उनले विकल्पका रुपमा तरकारी व्यापार थालेका हुन् । तरकारी बिक्री गर्दा प्रतिस्पर्धा धेरै भएकाले थोरै फाइदा हुने उनले बताए ।

दैनिक घरको मिस्त्री काम गर्दै आएका व्यास-१० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा छन् । ‘पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन  कामविहीन हुनु परेको थिएन,’ उनले भने, ‘एक वर्षदेखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ ।’

उनले घर निर्माणमा मजदुरी गर्दा दैनिक आठ घण्टामा ९ सय कमाउँथे । अहिले मिस्त्री र सहयोगी मजदुर कामविहीन हुनुपरेको उनको भनाइ छ ।

व्यास-१ गल्बुबेँसीका घर निर्माण ठेकेदार सन्तबहादुर तामाङले पनि घर बन्न छोडेपछि धेरै मजदुर बेरोजगार भएको बताए । ‘पहिले वर्षमा १२–१५ वटा घर सजिलै बनाइन्थ्यो, त्यसका लागि २०–२२ जना मजदुर नियमित खटाउथेँ,’ उनले भने, ‘तर अहिले वर्षमा एउटा पनि घरको ठेक्का पाएको छुइन ।’

दमौली बजारमा पेन्टिङको काम गर्ने धेरै पेन्टर खाडी मुलुक गइसकेको उनले बताए । आर्थिक गतिविधि सुस्ताएपछि सबैभन्दा बढी असर घर निर्माणमा खटिँदै आएका ठेकेदार र मजदुरलाई परेको निर्माण व्यवसायी संघ तनहुँका पूर्वअध्यक्ष टीकानिधि पौडेलले बताए ।

जिल्लाका १८० निर्माण व्यवसायी निर्माण व्यवसायी संघमा आबद्ध छन् । घर बन्नै छाडेपछि घर निर्माण परामर्शदाता कम्पनीहरु कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यास नगरपालिका घर नक्सा शाखाका इन्जिनियर अमृत केसीले बताए ।

व्यास नगरपालिकाबाट घर नक्सा पास गर्ने क्रम घटेको छ । आर्थिक बर्ष २०७६/७७ मा वार्षिक ४५० वटा घर नक्सा पास भएकामा आर्थिक वर्ष २०७७/७८ मा वार्षिक २६० वटा र आर्थिक वर्ष २०८०/८१ को पछिल्लो नौ महिनामा जम्मा दुई सय घरको नक्सा पास भएको इन्जिनियर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्