• Menu

भन्सार छलीका ८८ लाखका सामान बरामद, ४ सय किलो कुखुरा नष्ट

नेपाल प्रफिट

२०८१ वैशाख १९, बुधबार ०९:३७

भन्सार छलीका ८८ लाखका सामान बरामद, ४ सय किलो कुखुरा नष्ट

कञ्चनपुर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा अवैध ढंगले भित्र्याइएका ८८ लाख रुपैयाँबराबरका सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ७७ लाख ५१ हजार ३४६ मूल्यबराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए ।

दुई महिनामा भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजारबराबरको किराना सामान, १६ लाख ५२ हजारको कपडा, १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र २० लाख ६३ हजार रुपैयाँको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले चार सय किलो कुखुरा र १८७ किलोग्राम माछा बरामद गरी नष्ट गरेको छ ।

‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी १० लाख ५० हजार रुपैयाँ बढी मूल्यका सामान नष्ट गरियो,’ चन्दले भने, ‘अन्य लागु औषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।’

भारतसँग १२९ किलोमिटर सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्