• Menu

नोन्जोम कामीले ८० वर्षको उमेरमा पाइन् नागरिकता

नेपाल प्रफिट

२०८१ वैशाख १३, बिहीबार ११:२५

नोन्जोम कामीले ८० वर्षको उमेरमा पाइन् नागरिकता

मुगु । मुगुम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन् ।

२००० साल वैशाख १२ गते जन्मिएकी उनलाई जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र प्रदान गरका हुन् ।

पैतिस वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न दुई-तीन दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या भएको र नागरिकताको आवश्यकताबारे पनि जानकारी नभएको उनले बताइन् ।

‘जब श्रीमानको मृत्यु भयो, घरमा कमाउने मान्छे भएन, दुई छोरा पाल्न धौधौ भयो, सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन,’ उनले भनिन् ।

श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेको र ढिला नागरिकता लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि उनको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

असी वर्षमा पनि नागरिकता नबन्दा सिंगो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो । विभिन्न सञ्चार माध्यममा उनका बारेमा समाचार सार्वजनिक भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दावा साङ्वा तामाङले उनको नागरिकता बनाउन सबै प्रक्रिया पू्रा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्