• Menu

आगोले गाउँ नै सखाप, घर खरानी भएपछि बिचल्ली

नेपाल प्रफिट

२०८१ वैशाख १०, सोमबार ०९:२३

आगोले गाउँ नै सखाप, घर खरानी भएपछि बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-३ रातामाटाकी वसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन् । ‘घर एकैछिनमा खरानी भयो, गाँसबासको टुंगो छैन, कहाँ बस्ने कहाँ खाने ?’ आँसु बगाउँदै उनले भनिन् ।

स्थानीय गंगाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । ‘घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो,’ उनले भने, ‘घरमा रहेका कुनै पनि वस्तु बचाउन सकिएन ।’

वसन्ता र गंगाबहादुरमात्र होइन, धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् ।

आगोले भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिए । बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्णरुपमा निभाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य संघले खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताए ।

आगोले गाउँ नै सखाप भएको  छ ।  जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् ।

शनिबार भूमिकास्थान नगरपालिका, शीतगंगा नगरपालिका र पाणिनी गाउँपालिकामा  डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भएका छन् भने ११ बाख्रा र ६ भैँसी मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्