• Menu

मेहनत गरे बगरमा पनि यसरी फल्छ पैसा

रासस

२०८१ वैशाख ९, आइतबार २१:२८

मेहनत गरे बगरमा पनि यसरी फल्छ पैसा

दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका-४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुन सकेको थिएन । तर, अहिले यहाँका पौरखी किसानले त्यही बगरमा खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरबुजा र तरकारी लटरम्म छ । यही खेतीबाट किसानले मनग्य आम्दानी गर्न थालेका छन् । यसरी आम्दानी गर्नेमध्ये एक छन्- लमही नगरपालिका-४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी ।

चौधरीले करिब दुई बिघा बगरमा खरबुजा र केही जमिनमा भेन्टा, लौका, करेला, बोडीलगायतका बेमौसमी तरकारीखेती गरेकी छन् । बीस वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउँछिन् ।

त्यस समय यही बगरले उठिबास पारेको सम्झिने चौधरी अहिले भने खुसी छन् । ‘बीस वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो । अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ । त्यहीको आम्दानीले ६ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन, थोरै भए पनि बचत गर्न सफल भएका छौँ,’ उनले भनिन् ।

विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि ६ वर्षयता राम्रो आग्दानी गरिरहेको बताइन् । उनका अनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

‘बाढी पसेको १० वर्षसम्म त यहाँ बालुवामात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू गर्‍यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन,’ चौधरीले भनिन्, ‘मेहनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाइ भएको छ ।’

सनकुमारीमात्रै होइन, जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्याला मजदुरी गर्न बाध्य ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत यही बगरखेती भएको छ । उनले पनि एक बिघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेती गरेर एक मौसममा डेढ लाखसम्म बचत गर्ने गरेकी छन् ।

‘खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो । अरुकहाँ ज्याला मजदुरी गरेर जीविको चलाउने दिन पनि आए तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ,’ उनले भनिन्, ‘अहिले यही खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाएका छौं ।’

लमही नगरपालिका-४ की ३७ वर्षीया माया चौधरीले एक बिघा जमिनमा खरबुजा र एक बिघामा तरकारीखेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताइन् ।

सनकुमारी, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरबास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ ।

बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गरिरहेका छन् । राप्ती नदी आसपासका यी तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिक रूपमा गरी दुई हजारभन्दा बढी किसानले १०२ समूह बनाएर उपयोग गरिरहेको स्थानीय कृषि बहुद्देश्यीय सहकारी संस्थाको तथ्यांक छ ।

यही संस्थाले सुरूमा किसानलाई निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा बिनाधितो ऋण पनि उलब्ध गराउँदै आएको थियो ।

लमही नगरपालिकाको कृषि शाखाकी गंगा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिइन् । गढवा गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म पु‍र्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

तर, एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझ बढी लाभ लिन सकिने यहाँका किसानको बुझाइ छ ।

‘प्रचण्ड गर्मी छ । बालुवा नै बालुवा भएकाले सुक्खा बढी हुन्छ तर नजिकै बोरिङ छैन । हाम्रो उत्पादन खपत हुने पर्याप्त बजार पनि छैन । त्यसैले सरकारले यी समस्या समाधान गरिदिए अझ बढी मेहनत गर्थ्यौं,’ उनीहरु भन्छन् ।

प्रतिक्रिया दिनुहोस्