• Menu

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जले, करोडौंका संरचनामा क्षति, सयौँ चौपायाको मृत्यु

नेपाल प्रफिट

२०८१ वैशाख ९, आइतबार २०:५६

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जले, करोडौंका संरचनामा क्षति, सयौँ चौपायाको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मी दरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

आगलागीबाट करोडौंका भौतिक संरचना एवं सयौँ चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।

शनिबार दिउँसोबाट इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेको थियो, जसबाट हस्तिचौरका १५ जनाको घरगोठ जल्नाका साथै दर्जनौँ चौपायाको आगोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका–१ मा लागेको आगोका कारण ट्र्याक्टर चालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । डढेलोका कारण लु ४ त ६५३५ नम्बरको ट्र्याक्टर जलेर पूर्ण रूपमा क्षति भएको छ ।

आगोले घरभित्र भएका अन्न, लत्ताकपडा, गरगहनालगायत सबै सामग्री नष्ट गरेकाले पीडित झनै समस्यामा परेका छन् । जंगलमा आगो लागेको बेला हावाहुरी चलेपछि नियन्त्रणमा कठिनाइ हुँदा आगो बस्तीमा पसेको थियो ।

जिल्लाको इस्मा, रेसुंगा, गुल्मी दरबार र रुरुक्षेत्र गाउँपालिकाका साथै अन्य स्थानमा पनि आगलागी भइरहेको छ ।

जिल्लामा आगलागीबाट पीडित भएकाका लागि राहत र उद्धार कार्य जारी छ । पीडितलाई गुल्मी उद्योग वाणिज्य संघले कपडा, नेपाल रेडक्रस सोसाइटीले त्रिपाललगायत अत्यावश्यक सामग्री, गाउँपालिकाले खाद्यान्न प्रदान गरेका छन् ।

त्यसैगरी, खानेपानी तथा सरसफाइ कार्यालयले दुई हजार पाँच सय मिटर पाइप एवं जिल्ला प्रशासन कार्यालयले प्रतिपरिवार २० हजारका दरले राहत रकम प्रदान गरेको छ । मरेका चौपायाबाट थप दुर्गन्ध फैलिन नदिन आगलागीमा परी मरेका पशुलाई स्थानमा गाड्ने काम भइरहेको छ ।

आइतबार गुल्मी क्षेत्र नम्बर २ ‘क’ का सांसद डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत समूहले घटनास्थलको अवलोकन गरेको छ ।

आगोले विद्युत्को सबस्टेसनसमेत जलेको छ । शुक्रबारनजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ ।

सबस्टेसन पूर्णरूपमा क्षति हुनबाट रेसुंगा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट करिब दुई करोडबराबरको क्षति भएको छ ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवललगायत सामग्री जलेकाले प्रारम्भिक रूपमा करिब दुई करोडको क्षति भएको अनुमान गरिएको छ ।

डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । जिल्लामा लागेको आगोबाट भएको क्षतिको विवरण आउन भने केही समय लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्