• Menu

शिलान्यासको पाँच वर्षपछि ‘नमुना सदरमुकाम’ निर्माण सुरु

नेपाल प्रफिट

२०८१ वैशाख ७, शुक्रबार १४:३८


नवलपुर । नवलपुरको नमुना सदरमुकाम निर्माण प्रक्रिया अघि बढेको छ । शिलान्यासको पाँच वर्षपछि जिल्लाको महत्वपूर्ण आयोजनका रुपमा हेरिएको नमुना सदरमुकाम निर्माण प्रक्रिया अघि बढाइएको हो ।

जिल्लामा रहने संघ तथा प्रदेश मातहतका सरकारी कार्यालय एकै स्थानमा बनाउने गरी कावासोती नगरपालिका–३ मा रहेको १८७ बिघा जग्गामा नमुना सदरमुकाम निर्माण थालनी गरिएको छ । २०७६ वैशाख ७ गते नमुना सदरमुकाम निर्माणको योजनाअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरका थिए ।

संघीयतापछि तत्कालीन नवलपरासीबाट अलग भएको नवलपुरको नयाँ, व्यवस्थित र  आधुनिक शैलीको सदरमुकाम निर्माण गर्ने योजनाअनुसार यसलाई नमुना सदरमुकाम नामकरण गरी काम थालिएको थियो । शिलान्यासको पाँच वर्षपछि मात्र निर्माणको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले भवन निर्माणको प्रक्रिया सुरु गरेको छ ।

आयोजना कार्यालयले गएको चैत २५ गते भवन निर्माणको ठेक्का खुलाएको छ । एक महिनाको समय राखेर भवन निर्माणका लागि ठेक्का आह्वान गरेको आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए । नवलपुरको नमुना सदरमुकाम निर्माणस्थलमा पहिलो चरणमा ५० करोड रुपैयाँको काम गर्न लागिएको उनले जानकारी दिए ।

५० करोड बजेट सुनिश्चित भएसँगै पहिलो चरणमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी पाँचवटा कार्यालयका लागि भवन निर्माण प्रक्रिया अघि बढेको कार्यालय प्रमुख थापाले बताए । पहिलो चरणमा बन्ने भवनमध्ये जिल्ला प्रशासन कार्यालयको अलग भवन रहनेछ ।

बाँकी सेवाको एकरूपता हुने किसिमका कार्यालय रहने गरी दुई भवनमा चारवटा खण्ड हुनेछन्, जसमा चारवटा कार्यालय रहनेछन् । ‘यसअघि काम हुन सकेको थिएन, पहिलो चरणमा केही कार्यालय रहने गरी भवन निर्माणको प्रक्रिया अघि बढेको छ, तीन आवमा पहिलो चरणको काम सक्ने लक्ष्य छ,’ कार्यालय प्रमुख थापाले भने ।

निर्माण स्थलमा अन्य सरकारी कार्यालयको भवन तथा बाटो निर्माण, निर्माण स्थलको उत्तरी क्षेत्रमा रहेको केरुङ्गे खोलाको बाढी नियन्त्रणलगायत कार्य गर्न थप बजेट माग गरिएको उनको भनाइ छ । थप बजेट सुनिश्चित भएपछि निर्माणअन्तर्गत दोस्रो चरणको काम अघि बढ्ने उनले बताए ।

दोस्रो चरणमा भवन निर्माणका लागि पाँच अर्ब र बाटोलगायत अन्य कार्यका लागि दुई अर्ब ५० करोड रुपैयाँ सरकारसँग माग गरिएको छ ।

नमुना सदरमुकाम निर्माणस्थलमा यसअघि करिब १० करोडको लागतमा कच्ची बाटो निर्माण गरिएको थियो । त्यसबाहेक अन्य कुनै काम अघि नबढेको अवस्थामा पहिलो चरणमा भवन निर्माणको प्रक्रिया सुरु हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताए ।

‘सरकारी कार्यालय अहिले यत्रतत्र छरिएर रहेका छन्, त्यसमाथि भाडाको घरमा सञ्चालन हुँदा, साँघुरो छन्, सेवाग्राही मैत्री छैनन्, नमुना सदरमुकाममा भवन निर्माणको काम सुरु हुने सबैका लागि खुसीको कुरा हो,’ उनले भने ।

पहिलो चरणको काममा कुनै विलम्ब नगरी सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने र अन्य कार्यालयका लागि समेत थप बजेट सुनिश्चित गरी काम अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

नमुना सदरमुकाम निर्माणस्थलमा संघ, प्रदेश कार्यालय, पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रंगशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचना निर्माण गर्ने योजना छ । प्रारम्भिक योजनाअनुसार नमुना सदरमुकाम निर्माणका लागि करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्