• Menu

काभ्रेका मुक्ति बिष्टले स्ट्रबेरी खेती गरेर एकै वर्षमा कमाए ४० लाख

नेपाल प्रफिट

२०८१ वैशाख ५, बुधबार १६:१५

काभ्रेका मुक्ति बिष्टले स्ट्रबेरी खेती गरेर एकै वर्षमा कमाए ४० लाख

काभ्रे । कोरोना महामारीको समयमा धेरैले रोजगारी गुमाइरहेका बेला बनेपा नगरपालिका-१० का मुक्ति विष्टले भने स्वरोजगार बन्ने जुक्ति निकालेर स्ट्रबेरी (भूइँ काफल) खेती सुरु गरेका थिए ।

तीन वर्षअघि सुरु गरेको व्यायसायिक स्ट्रबेरी खेती विष्टले अहिले थप विस्तार गर्दै लगेका छन् । उनी उक्त काममा कति पनि विचलित नभई निरन्तरको मेहनतले व्यवसायको दायरा बढाउँदै लगेका हुन् ।

दैनिक हजारौं युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै केही गरौँ भन्ने लाग्नलाई विष्टको स्ट्रबरी खेती उदाहरणीय बनेको छ । अहिले उनले यही खेतीबाट नाम र दाम पनि कमाउँदै आएका छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष नाफा बढाइरहेको छ ।

विष्टले आफ्नो १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर युवालाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेको बताए । ४२ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेका होइनन् । अरुले रोपेको देखेर र भनेको सुनेको भरमा काम थालेको उनले बताए ।

गत वर्ष स्ट्रबेरी बेचर सबै खर्च काट्दा पनि ४० लाख नाफा भएको विष्टले जानकारी दिए । उनले यो वर्ष ५० हजार किलो उत्पादन गर्ने लक्ष्य लिएका छन् । ‘गत वर्षभन्दा बढी आम्दानी हुने विश्वासमा छु,’ उनले भने ।

उनले स्ट्रबेरी खेतीका लागि बनेपा र ककनीमा गरी १ लाख बिरुवा रोपेका छन् । ‘बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन गर्न थालेको छु,’ उनले भने ।

उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको बताए । गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेको जानकारी उनले दिए ।

दुई महिनामा हुर्केको स्ट्रबेरीले उत्पादन दिन थाल्छ । हाल स्ट्रबेरी बजारमा प्रतिकिलो तीन सयदेखि सात सय रुपैयाँसम्ममा बिक्री हुने गरेको विष्टले बताए । बनेपा र आसपासका किसानले खेतमै आएर हेर्ने र किनेर लैजाने गर्न थालेका उनको भनाइ छ ।

‘हिजोआज दैनिक बेरी खेती हेर्न आउने क्रम बढ्दैछ । उहाँहरु आएर हेर्नुहुन्छ अनि फर्किँदा किनेर लैजानुहुन्छ । बजारको भन्दा यहाँ केही सस्तो पर्ने भएकाले पनि उहाँहरुले लैजाने गर्नुभएको छ,’ विष्टले भने ।

उनका अनुसार उत्पादित स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौं, पोखरा तथा चितवनसम्म जाने गरेको छ ।

‘देशका प्रमुख सहरमा उत्पादन पुर्‍याउने लक्ष्य लिएको छु, स्ट्रबेरीका बिरुवा भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट पनि माग हुन थालेको छ । त्यसमा पनि विशेष ध्यान दिइरहेको छु,’ उनले भने । प्रतिबिरुवा २५ देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको विष्टले जानकारी दिए ।

करिब ४० लाख लगानीबाट थालेको व्यवसायमा अहिले उनको दुई करोड लगानी पनि थपिएको छ । अमर भूमण्डलीय बहुद्देश्यीय कृषि फर्म दर्ता गरी नयाँ-नयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको हो ।

‘सुरुवातमा कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्‍यो, अहिले त्यस्तो छैन,’ विष्टले भने । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ भएको अनुभव उनले सुनाए ।

विष्टको व्यवसायमा अहिले स्ट्रबेरीमात्र छैन, करिब दुई सय बोट ड्रागन फ्रुट पनि उत्पादन हुने क्रममा छन् । परीक्षणका रुपमा रोपिएका ड्रागन फ्रुटको उत्पादनलाई हेरी व्यवसायिकता दिने सोचमा उनी छन् ।

फार्ममा स्थानीयवासीले रोजगारी पाएका छन् । तीन जनालाई नियमित तथा दैनिक आवश्यकताअनुसार कामदार लगाउने गरेको विष्टको भनाइ छ ।

हाल मुक्तिको व्यवसायमा कुखुरापालन र बाख्रापालन पनि देख्न सकिन्छ । उनका फार्ममा पाँच सयदेखि एक हजारसम्म कडकनाथ जातका काला कुखुरा छन् । जसबाट उत्पादन भइरहेको अण्डा र मासु बिक्री भइरहेको छ ।

व्यवसायका लागि विष्टले वित्तीय संस्थाबाट ऋण लिएका छन् । ‘अहिलेसम्म सरकारी अनुदानमा ऋण पाएको छैन, प्रयास गर्दैछु,’ उनले भने, ‘सरकारले पौरखी किसानलाई सहुलियत ऋण दिए व्यावसायिक कृषि उत्पादनमा लाग्नेको संख्या बढ्न सक्छ र युवा बिदेसिने क्रम घट्ला कि !’

प्रतिक्रिया दिनुहोस्