• Menu

बाँकेमा ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र प्रदान

नेपाल प्रफिट

२०८१ वैशाख ५, बुधबार १६:०४

बाँकेमा ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र प्रदान

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले सुरुवातमा ११७ जनालाई चालक परिचयपत्र वितरण गरेका छन् ।

उपमहानगरपालिकाले ई-रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बिमा र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई-रिक्सा व्यवस्थापन समिति प्रालिले ई-रिक्साको व्यवस्थापनको काम गरिरहेको छ ।

ई-रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बिमा गर्ने योजना अगाडि बढाएको नगर प्रमुख विष्टले बताए । ‘नेपालगन्जमा ई-रिक्साको व्यवस्थापन गर्न जरुरी छ, ई-रिक्सा चालकले नेपालको कानुनअनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ,’ उनले भने ।

उनीहरुको पेसागत सुरक्षा र यात्रीको सुरक्षाका लागि कार्यविधि बनाएर काम गरिरहेको उनले जानकारी दिए ।

नेपाल ई-रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई-रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बिमाको बारेमा अभिमुखीकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताए ।

नेपालगन्जमा सञ्चालित ई-रिक्साका चालकलाई ट्राफिक नियमबारेमा सचेतना अभियान थालिएको नेपालगन्ज अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्