• Menu

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ वैशाख ५, बुधबार १५:५८

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ ।

चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सात भारतीय, तीन नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार आव २०७८/७९ मा पाँच महिला र एक पुरुष गरेर ६ जनाको लेक लागेर मृत्यु भएको थियो । उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरू ४५ देखि ७३ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो ।

आव २०७९/८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चार नेपाली थिए । उनीहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

प्रहरी अभिलेखअनुसार उनीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।

प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन,  फागुनमा दुई र चैतमा ६ जनाको मृत्यु भएको पाण्डेले जानकारी दिए ।

उनका अनुसार मृतकमध्ये पाँच महिला र ६ जना पुरुष छन् । उनीहरु ३५ देखि ८३ वर्ष उमेर समूहका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठ भारतीय छन् । उनीहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।

गत चैतमा मात्र ६ जना तीर्थयात्रुको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो ।

मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला तीन वर्षको तथ्यांकले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ ।

दुई हजार पाँच सय मिटर वा त्यसभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।

मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ-स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् । त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् ।