• Menu

टिकटक सञ्चालक कम्पनी बाइटडान्सको नाफामा ६० प्रतिशत वृद्धि, पछि परे अरु अनलाइन प्रतिद्वन्द्वी

नेपाल प्रफिट

२०८० चैत २९, बिहीबार ०९:३०

टिकटक सञ्चालक कम्पनी बाइटडान्सको नाफामा ६० प्रतिशत वृद्धि, पछि परे अरु अनलाइन प्रतिद्वन्द्वी

एजेन्सी । टिकटक सञ्चालक कम्पनी बाइटडान्सको नाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । यसले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले बताएको छ ।

बाह्र वर्षअघि बेइजिङ अपार्टमेन्टमा स्थापना भएको बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । बाइटडान्सलाई अधिकांश मुलुकमा भिडियो एप टिकटकको निर्माताका रूपमा चिनिन्छ ।

मार्केट इन्टेलिजेन्स फर्म सीपी इनसाइट्सका अनुसार हालैका वर्षहरूमा कम्पनी विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनीमध्ये एक बन्न सफल भएको छ । यसको मूल्य करिब दुई खर्ब २५ अर्ब डलर भएको छ ।

ब्लुमबर्गको रिपोर्टमा ब्याज, कर, मूल्यह्रास र ऋणमुक्तिअघि कम्पनीको आम्दानी सन् २०२२ मा करिब २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको उल्लेख छ । रिपोर्टअनुसार बिक्री पनि ८० अर्ब डलरबाट बढेर करिब एक खर्ब २० अर्ब डलर भएको छ ।

बाइटडान्सले राजस्व र आम्दानी दुवैमा प्रतिद्वन्द्वी टेनसेन्टलाई पहिलोपटक उछिनेको छ । ब्लुमबर्गले आन्तरिक आँकडाहरूको स्वतन्त्र रूपमा लेखापरीक्षण नगरिएको बताएको छ । बाइटडान्ससँग सम्पर्क गर्दा ‘बजारका अनुमानहरू’ माथि टिप्पणी नगर्ने जनाएको उल्लेख छ ।

कम्पनीले सन् २०१७ मा टिकटक लन्च गरेको थियो । एपको संसारमा यसले तहल्का नै मच्चाएको छ । चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ । एप डुइयानको अन्तर्राष्ट्रिय संस्करण थियो । यसलाई सन् २०१६ मा चीनमा जारी गरिएको थियो ।

ती एपहरूको विस्फोटक वृद्धिका कारण बाइटडान्सले ई–कमर्स र यात्रा बुकिङमा विस्तार गरेको छ । एउटा भिडियो सम्पादन एप पनि जारी गरेको छ । चिनियाँ यस कम्पनीले विश्वभरका करिब १२० सहरमा एक लाख ५० हजारभन्दा धेरै कर्मचारी भएको बताएको छ ।

निजी स्वामित्वमा रहेको कम्पनी बाइटडान्सले राजस्व र आम्दानीको आँकडा जारी गर्दैन तर यसको आम्दानीको मिडिया अनुमानले यसलाई विश्वको केही सबैभन्दा ठूला कम्पनीहरूको बराबरीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्