• Menu

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

नेपाल प्रफिट

२०८० चैत २९, बिहीबार ०८:५७

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

बागलुङ । तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले ६ वटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो ।

गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त हुने गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिला झोला, सल, स्विटर र टोपीहरु बनाउँछन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन् ।

गाउँपालिकाले दिएको तालिमले आफूहरुको दैनिकी बदलिएको जुनुमाया घर्तीमगरले बताइन् । उनीहरुले बिहान-बेलुका घरको कामधन्दा गर्ने र दिउँसो कपडा बुन्ने गरेका
छन् ।

‘एक्लै भन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौँ,’ उनले भनिन्, ‘हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ,  सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौँ ।’

वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ । वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङ्गाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ ।

वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ । स्थानीय स्रोत र साधानको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताइन् । विगतमा घाँस–दाउरा र पशुपालनमा व्यस्त उनी अहिले साबुन उत्पादनमा व्यस्त हुने गरेकी छन् ।

महिलाले उत्पादन गरेका सामग्री प्रवर्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवन नै निर्माण गरेको छ ।

उनीहरुले उत्पादन गरेको खादा, दोसल्लालगायत सामग्री गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रयोग हुने गरेको उनले जानकारी दिए । उत्पादित सामग्री  बजारसम्म पुर्‍याउन गाउँपालिकाले ढुवानीको व्यवस्था गरेको छ ।

‘दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सीप सिकाउनेदेखि उद्यम गर्न सहयोग गर्दै आएका थियौँ,’ उनले भने, ‘अब उहाँहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न पनि साथ दिन्छौँ, सीपले उहाँहरुलाई आत्मनिर्भर बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्