काठमाडौँ । जर्मनीको तीन क्षेत्रका लागि नेपाली अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको पदावधि थप गरिएको छ ।
यही चैत २२ मा बसेको मन्त्रिपरिषद् बैठकले थापाको पदावधि ४ वर्ष थप्ने निर्णय गरेको हो । महावाणिज्यदूत थापाले जर्मनीका नर्थ राइन, वेस्टफालिया ब्रेमेन र लोअर स्याक्सोनी क्षेत्र हेर्दै आएका छन् ।
गैरआवासीय नेपाली संघका संस्थापक सदस्य थापा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष एवं संरक्षक रहिसकेका छन् । नेपालको गोरखा मूल थलो भएका थापाले जर्मनीमा व्यवसाय पनि गरिरहेका छन्।
जर्मनीमा बिजनेस म्यानेजमेन्ट अध्ययनपछि थापा बैंकिङ क्षेत्रमा काम गर्दै आएका थिए। उनले जर्मनीको चर्चित सेभिङ ग्रुपमा वित्त विश्लेषक भएर पनि काम गरेका थिए ।