• Menu

चार महिनाभित्र ‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने इलोन मस्कको घोषणा, मूल्य कति ?

नेपाल प्रफिट

२०८० चैत २५, आइतबार २०:५८

चार महिनाभित्र ‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने इलोन मस्कको घोषणा, मूल्य कति ?

एजेन्सी । टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख इलोन मस्कले ‘रोबोट्याक्सी’ सञ्चालन गर्ने घोषणा गरेका छन् । मस्कले सामाजिक सञ्जालमार्फत अगस्ट ८ मा रोबोट्याक्सी सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

रोबोट्याक्सी टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताएका छन् । टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने र टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालकरहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले यस पहिले सन् २०१९ मै घोषणा गरेका थिए ।

कारहरूले पूर्णरूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न र बिना कुनै मानवीय सहयोग यात्रुलाई ट्याक्सी चढाउने र झार्ने गर्नुका साथै राम्रो आम्दानी गर्न सक्ने उनले बताए ।

टेस्लाले सन् २०२० सम्ममा ‘रोबोट्याक्सी’ सञ्चालन गर्न थाल्ने उनले सन् २०१९ अप्रिलमा बताएका थिए । टेस्ला कम्पनीद्वारा उत्पादित स्वायत्त कार ११ वर्ष टिक्ने र १६ लाख किलोमिटरभन्दा बढी चल्ने र यसबाट कम्पनी र कार मालिकले प्रत्येक वर्ष ३० हजार अमेरिकी डलरबराबरको नाफा कमाउन सक्ने उनको दाबी छ ।

यद्यपि कहिलेकाहीँ घोषणा गरिएका काम सोचेअनुरूप पुरा हुन नसक्ने तर यसले कुनै न कुनै दिन सार्थकता पाउनेसमेत उनले बताएका छन् । ‘कहिलेकाहीँ मैले सोचेको काम समयमा नभए पनि मैले सोचेको कुरा कालान्तरमा टेस्ला समूहले गरेको छ,’ उनले भने ।

उपभोक्ताहरूले ‘नयाँ टेस्ला मोडल-३’ कारको खरिद मूल्य ४० हजार अमेरिकी डलरमा अतिरिक्त १२ हजार अमेरिकी डलर मूल्य थपेपछि पूर्णरूपमा स्वचालित क्षमताको कार खरिद गर्न सक्ने उनले बताए ।

पूर्ण स्व-ड्राइभिङ क्षमता एक महिनाको १९९ अमेरिकी डलर तिरेर ‘सदस्यता व्यापार मोडेल’को आधारमा खरिद गर्न सकिने उनले जानकारी दिए । सदस्यता व्यापार मोडेलअनुसार ग्राहकले उत्पादन वा सेवामा पहुँचको लागि नियमित अन्तरालमा पुनरावृत्ति मूल्य तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्