• Menu

स्वास्थ्य बिमाको भुक्तानी प्रक्रिया सरल र सहज बनाउन प्रधानमन्त्रीको निर्देशन

नेपाल प्रफिट

२०८० चैत २५, आइतबार १२:३३

स्वास्थ्य बिमाको भुक्तानी प्रक्रिया सरल र सहज बनाउन प्रधानमन्त्रीको निर्देशन
आठौं स्वास्थ्य बिमा वार्षिकोत्सव कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बिमा प्रमाणपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री । तस्बिर : प्रदिपराज वन्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र सेवामैत्री बनाउन भुक्तानी व्यवस्था प्रक्रिया सरल र सहज बनाउन निर्देशन दिएका छन् ।

आठौँ स्वास्थ्य बिमा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बिमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउन निर्देशन दिएका हुन् ।

‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बिमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधान चुनौतीलक्षित सुधारका योजना हुन्,’ उनले भने, ‘स्वास्थ्य सेवालाई समतामूलक ढंगले स्वास्थ्य बिमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्छ ।’

बिमा कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारलाई पूरा गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले बिमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमालाई ध्यान निर्देशन दिए ।

उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बिमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सरकारले उच्च प्राथमिकतामा राखेर सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसहरूमा स्वास्थ्य बिमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारबाट स्वास्थ्य बिमा कार्यक्रमको मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको बताए ।

बिमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारिता बढाउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए । उनले स्वास्थ्य बिमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे ।

आइतबारदेखि ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्