• Menu

ताइवानमा शक्तिशाली भूकम्प, ५० हजारभन्दा बढी मानिस घाइते

नेपाल प्रफिट

२०८० चैत २१, बुधबार १०:५८

ताइवानमा शक्तिशाली भूकम्प, ५० हजारभन्दा बढी मानिस घाइते

एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिण केन्द्रविन्दु भएर बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण केही भवन भत्किएका छन् । भूकम्पबाट ठूला भवनहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको छ । एक हप्तासम्म परकम्प आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन भनिएको छ ।

भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ । त्यसैले ताइवानका ९१ हजारभन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

ताइवानमा भूकम्प आएपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउनसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यसबेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।