• Menu

म्यानमार र चीनको सीमा क्षेत्रबाट स्क्यामिङमा संलग्न ८ सय ठग पक्राउ

नेपाल प्रफिट

२०८० चैत २०, १०:०४

म्यानमार र चीनको सीमा क्षेत्रबाट स्क्यामिङमा संलग्न ८ सय ठग पक्राउ

एजेन्सी । म्यानमारस्थित चीनको राजदूतावासले म्यानमार र चीनको संयुक्त प्रहरी अपरेसनमा इन्टरनेटमा आधारित सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न ८ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

चीन र अन्य देशका नागरिकलाई प्रलोभनमा पारी सीमाक्षेत्रमा बन्धक बनाएर ठगी गर्न बाध्य पारिएको भेटिएको छ । इन्टरनेटमा आधारित यस धन्धाको व्यवसाय अर्बौं डलरको रहेको अनुमान गरिएको छ ।

त्यस्ता प्रकारका अपरेसन गर्न बेइजिङले म्यानमारको सैनिक सरकारलाई निरन्तर आग्रह गरिरहेको थियो । चीन सरकारले म्यानमार समकक्षीलाई म्यानमारको सान राज्यमा भइरहेका संगठित अपराध र ठगीका बारेमा जानकारी गराएको थियो ।

म्यानमार प्रहरीले विज्ञप्तिमार्फत सीमापार अपराधमा संलग्न भएको आरोपमा ८ सय जनालाई पक्राउ गरेको र उनीहरुबाट कम्प्युटर, मोबाइल फोन बरामद गरेको उल्लेख गरेको छ । पक्राउ परेकामध्ये ३५२ चिनियाँ नागरिकलाई आइतबार नै चीन पठाइएको छ भने अन्य व्यक्ति सबै म्यान्मारका नागरिक हुन् ।

म्यानमारको सीमा क्षेत्रमा एक लाख २० हजारभन्दा बढी मानिसलाई बन्धक बनाएर विभिन्न गैरकानुनी धन्धामा संलग्न गराएको भन्दै गत वर्ष संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले जानकारी दिएको थियो ।

विद्रोहीहरुको कब्जामा रहेको सान राज्यको लउकाई सहरमा ती मानिसलाई बन्धक बनाएको पाइएको छ । जातीय अल्पसंख्यक सशस्त्र समूहहरूले संगठित अपराध गर्ने ठाउँहरुलाई ध्वस्त बनाउने जानकारी गराएका छन् ।

गत वर्षमात्र म्यानमारमा साइबर अपराधमा सहभागी भएका शंकास्पद ४० हजारभन्दा बढी व्यक्तिलाई चीन पठाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।