• Menu

इजरायलको गाजा युद्धमा मृत्यु हुनेको संख्या ३२ हजार ८४५ पुग्यो, आर्थिक क्षति कति ?

नेपाल प्रफिट

२०८० चैत २०, ०९:५०

इजरायलको गाजा युद्धमा मृत्यु हुनेको संख्या ३२ हजार ८४५ पुग्यो, आर्थिक क्षति कति ?

एजेन्सी । इजराइल र प्यालेस्टिनी लडाकुबीचको युद्धका क्रममा गाजा क्षेत्रमा करिब ३३ हजारको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयताका पाँच महिनामा ३२ हजार ८४५ जनाको मृत्यु भएको हो ।

बितेका २४ घण्टामा मात्रै गाजा क्षेत्रमा ६३ जनाको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हमास लडाकुहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रमा ७५ हजार ३९२ जना घाइते भएका छन् ।

इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल सिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टापछि सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

‘इजराइली सेनाले गरेको कारबाहीमा दुई हप्तामा अस्पताल र वरपर करिब ३ सय जनाको मृत्यु भएको छ,’ गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले भनेका छन् । उनका अनुसार आर्थिक क्षतिको यकिन तथ्यांक संकलन भइसकेको छैन । अर्बौं डलरमा आर्थिक क्षति भएको अनुमान गरिएको छ ।