म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै जिल्लाका पुराना बजारको व्यापार घटेको छ ।
उत्तरतर्फ बेनी-जोमसोम र पश्चिमतर्फ बेनी-दरबाङ सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालनमा आएपछि म्याग्दीको ग्रामीण क्षेत्रको मुहार फेरिएको छ । सहरी क्षेत्रमा व्यापार व्यवसाय घट्दै गएको व्यापारीहरुले बताएका छन् ।
जिल्लामा १०-१२ ठाउँमा बजार विस्तार हुन थालेका छन् । सुगम मानिने सदरमुकाम बेनी बजारदेखि सबैभन्दा विकट मानिने पश्चिम म्याग्दीको गुर्जासम्म बजार विस्तार भएका छन् । सडकसँग जोडिएपछि अब जिल्लाका विकट क्षेत्र पनि सुगममा परिणत भएका स्थानीयले बताएका छन् ।
‘अहिले जताततै बजार विस्तार हुँदै गएका छन्, नागरिकले सेवासुविधा पनि पाउन थालेका छन्, सामान्य समान किनमेलका लागि घन्टौँ समय लगाएर बजार धाउनुपर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाउने सुविधामा छन्,’ मालिका गाउँपालिका-१ की टीकामति पुनले भनिन् ।
सदरमुकाम बेनी बजारेदेखि पश्चिम म्याग्दीको मुनासम्म थुप्रै स्थानमा अहिले साना-ठूला बजार विस्तार भएका छन् । अझै पनि बजार विकास हुने क्रममा छन् ।
२०६३ मा ट्र्याक खुलेको बेनी-दरबाङले म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकाका २७ गाउँ तथा बागलुङका तमान, बुर्तिबाङ र ढोरपाटन क्षेत्रका ९ गाउँलाई जोडेको छ ।
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ र मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट त्यस भेगमा जाने १८ गाउँमा ग्रामीण सडक विस्तार भएका छन् ।
सोही सडकको बेनी-तातोपानी खण्डको ९ किलोमिटर सडक ट्र्याक खुलेको १५ वर्षपछि कालोपत्र गर्ने काम सुरु गरिएको छ । सडकले जोडेका सिङ्गा, तातोपानी, बाबियाचौर, रणबाङ, तोराखेत, दरबाङ, मुना, धारापानी, ताकम, बिम, मराङलगायतका स्थान अहिले बजारमा परिणत हुँदैछन् ।
अहिले बजार विस्तार हुन लागेका ठाउँ सडक पुग्नुभन्दा पहिला सुनसान थिए । अहिले निकै चहलपहल बढेको दरबाङका गोपाल सुवेदीले बताए ।
सडकले धेरै सहजता प्रदान गर्नुका साथै जीवन नै परिवर्तन गरिदिएको धौलागिरि गाउँपालिका-५ का शेरबहादुर विकको भनाइ छ । ‘अहिले यति ठूला घर बने, पसल छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोच्दै नसोचेको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोचेको पनि थिएन,’ उनले भने ।
त्यसैगरी सडक र बजार विस्तारले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनता र मुस्ताङीको पनि जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ । २०६४ सालमा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी-जोमसोम सडकमा गाडी गुड्न थाले ।
बेनी-जोमसोम सडकको क्षेत्रमा रहेका आधा दर्जन बढी ठाउँमा बजार विस्तार भएका छन् । म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपिएको छ ।
उत्तरी म्याग्दीका विभिन्न गाउँमा भारी बोकेर खाद्यान्नलगायत सामग्री लैजाने भरिया र खच्चडको ठाउँमा गाडीले ढुवानी गर्न थालेका छन् । गाउँगाउँमा बजार विस्तार भएपछि जनतालाई सहज भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
सडक छेउमा बस्ती विस्तार हुने क्रम बढ्दै गएपछि यस क्षेत्रको रौनक नै फेरिएको दानाका होटल तथा पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘सडक आएपछि माथिमाथि गाउँबाट मान्छे तल झरेर सडक छेउमा घर बनाउन थाले, पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भयो,’ उनले भने ।
उनले सडकले गाउँठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँ जोडिएको बताए । यसले गर्दा स्वास्थ्य, शिक्षालगायत धेरै सेवासुविधा उपभोग गर्न पाएको उनको भनाइ छ । स्वास्थ्य उपचारका लागि टाढाटाढा जाने बाध्यता हटेको छ । अहिले नजिकै उपचार पाउन थालेको स्थानीय बताउँछन् ।
‘सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यहीँ गएपछि उपचार हुन्छ,’ शिखका इन्द्र बरुवालले भने, ‘पहिले मोटर गुड्ने बाटो पनि थिएन, अस्पताल पनि नजिक थिएन, निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो, बजार पनि बन्यो र अस्पताल पनि बन्यो, हामीलाई निकै सजिलो भयो ।’