• Menu

लुम्बिनीको पर्यटन प्रवर्धनका लागि एनआरएनए र चार पालिकाबीच समझदारी

नेपाल प्रफिट

२०८० चैत १४, बुधबार २०:४३

लुम्बिनीको पर्यटन प्रवर्धनका लागि एनआरएनए र चार पालिकाबीच समझदारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धन तथा विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंस्थित संघको सचिवालयमा बुधबार आयोजित विशेष कार्यक्रमका बीच संघ र नगरपालिकाहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा संघका अध्यक्ष डा. बद्री केसी एवं लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिका प्रमुख धनपत यादव, रामग्राम नगरपालिका प्रमुख सुदिप पौडेल र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले हस्ताक्षर गरेका छन् ।

विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल विश्व सम्पदा सूचीमा सूचीकृत रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धले सिद्धार्थ गौतमको रुपमा यौवनकाल बिताएको (आफ्नो जीवनको झन्डै २९ वर्ष ) कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु नगरपालिका तिलौराकोट, बुद्धको मामाघर रुपन्देहीको देवदह नगरपालिका र नवलपरासीस्थित बुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिकाको पर्यटकीय प्रवर्धन र विकास यस समझदारीको मुख्य उद्देश्य रहेको छ ।

समझदारीअनुरुप अन्तर्राष्ट्रिय स्तरमा शान्ति, सद्भावको प्रवर्धन गर्न, नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन एनआरएनए र स्थानीय सरकारबीचको सहकार्यलाई सुदृढ बनाई बुद्ध धर्मको उद्गम भूमि लुम्बिनीले बोकेको परम्परागत संस्कृति र शान्तिको दर्शन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याई बलियो बनाउने संयुक्त प्रयासको रुपमा यस समझदारीलाई लिइएको छ ।

यसले बुद्ध धर्मको भावनामार्फत नेपाल र विश्वभर शान्ति र भाइचाराको सिद्धान्त सञ्चार, गर्न पनि मद्दत गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा संघका अध्यक्ष केसीले विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल, शान्तिभूमि धार्मिक एवं पर्यटकीय क्षेत्र बुद्ध परिपथका चार नगरपालिका र गैरआवासीय नेपाली संघबीच संस्थागत रुपमा नै सम्बन्ध कायम भएको बताए ।

उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन एनआरएनएले स्थानीय सरकारसँग मिलेर काम गर्न लागेको चर्चा गरे । ‘संसारको जुनसुकै कुनामा जाँदा पनि हामी बुद्धको जन्मेको देशका हौँ भन्दा जति गर्विलो महसुस हुन्छ भनेरमात्र अब पुग्दैन, वास्तवमै गर्व महसुस गर्न अब हामीले अन्तर्राष्ट्रिय स्तरमा बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार गरी बढीभन्दा बढी पर्यटकलाई भित्र्याउन हाम्रो भूमिका अहं हुनुपर्छ,’ उनले भने ।

लुम्बिनीको विकासका लागि संसारभरका बौद्ध धर्मावलम्बीहरु एकजुट हुने उनको भनाइ छ । ‘हाम्रा ८७ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) छन्, म सरकारसँग आग्रह गर्छु ती ८७ वटै एनसीसीका अध्यक्षलाई सरकारले पर्यटकीय सद्भावनादूत बनाओस् ताकि नेपालको पर्यटन प्रवर्धनमा हरेक गैरआवासीय नेपाली सहभागी बन्न सकोस्,’ उनले भने ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुव्रप्रसाद खरेलले लुम्बिनी प्रदेशमा ४ वटा ऐतिहासिक स्थानलाई विश्व बजारमा चिनाउन र जोड्न एनआरएनएले गरेको पहलको प्रशंसा गरे ।

यस्तै कपिलवस्तु नगरपालिकामा प्रमुख सुदिप पौडेलले लुम्बिनी क्षेत्रको विकासका लागि एनआरएनएले सुरु गरेको नयाँ आयामले मूर्त रुप लिने विश्वास व्यक्त गरे ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले लुम्बिनीको पर्यटन प्रवर्धनका लागि भएको समझदारीले समग्र लुम्बिनी प्रदेशको विकासमा पनि सहयोग गर्ने बताए ।

यस्तै, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले एनआरएनएसँगको सहकार्यले लुम्बिनी विकासको सपना पूरा गर्ने र पर्यटकीय प्रचारप्रसारमा सघाउ पुग्ने आशा राखेको बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेलले गैरआवासीय नेपालीहरु नै विदेशमा नेपाल चिनाउने सच्चा दूत भएको टिप्पणी गरे ।