दाङ । लमही नगरपालिका वडा नम्बर ९ स्थित अमिलियाको चोकमा दुई वर्षदेखि अलपत्र परेको ‘खुमबहादुर खड्का’को शालिक बल्ल अनावरण हुने भएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गमा हुइँकिने यातायातका साधनले उडाएको धुलोले मैलिइसकेको रातो कपडाभित्र लुकाइएका खुमबहादुरको शालिक चैत १६ गते अनावरण हुने भएको हो ।
शेरबहादुरको साइत पर्खिंदा शालिक अनावरणमा ढिलाइ भएको हो । रातो कपडा उघार्ने साइत मिलाउन देउवाले दुई लगाइदिए । फलतः खुमबहादुरले कार्यकर्तामाझ शालिकमार्फत आफ्नो अनुहार देखाउन सकेका थिएनन् ।
कांग्रेसीहरुको मन–मनमा बसेका स्वर्गीय नेता खुमबहादुरको शालिक निर्माण हुनुलाई कार्यकर्ताहरुले खुमबहादुरप्रतिको उच्च श्रद्धाका रुपमा बुझेका छन् । उनीहरुले आर्थिक सहयोग जुटाएरै शालिक निर्माण गराए ।
लाखौँ रकममा शालिक निर्माण भयो पनि । तर, निर्माण भएको लामो समय बितिसक्दा पनि खुमबहादुरको अनुहार छोपिदिएको घुम्टो तत्काल उघारिदिन सकेन कांग्रेसले । फलतः रातो घुम्टोभित्र लुकाइरह्यो ।
शालिक निर्माण गरेको कांग्रेसको एउटा समूहले खुमबहादुरको शालिक पार्टीका अरु नेताबाट अनावरण गराउन चाहेन । उनको शालिक अनावरण पार्टी सभापतिबाटै हुनुपर्ने अडानमा देउवा निकटस्थ समूह रह्यो ।
‘निर्माण भइसकेको शालिक पार्टीका शीर्ष नेतामध्ये जसले अनावरण गरे पनि त हुने हो नि !’ एक कार्यकर्ताले भने, ‘शालिक अनावरण गर्ने विषयमा पनि गुटगत राजनीति गरियो ।’