• Menu

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

रासस

२०८० चैत १३, १३:२१

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनिकी ४३ वर्षीया ज्ञानुदेवी बादीको परिवार ६ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बई पलायन भयो ।

मुम्बई पुगेपछि उनका श्रीमानको उतै मृत्यु भयो । श्रीमानको मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानुको दुःख झन् थपियो । दुई वर्षअघि नेपाल आउने क्रममा रेलबाट खसेर दुवै खुट्टा गुमे ।

‘रेलबाट खसेपछि दुवै खुट्टा काटिए,’ उनले भनिन्, ‘नजिकै रहेका प्रहरी र यात्रुले रेल मुनिबाट तानेर ज्यान जोगाए ।’

अस्पतालमा लागेको उपचार खर्च आफन्तसँग मागेर तिरे । काटिएका दुवै खुट्टा अझै निको भएका छैनन् । ऋण लागेपछि दुवै छोरालाई विद्यालयबाट निकालेर काममा लगाउनुपर्‍यो । सामाजिक सुरक्षा भत्ता पाइएमा केही राहत हुने आशा छ । आफ्नो घर भत्किएपछि भारतबाट फर्केर छिमेकीकहाँ शरण लिएर बसकी छन् ।

ज्ञानु बादी प्रतिनिधि पात्रमात्र हुन् । गर्जमुनिका १० परिवार बादीमध्ये पाँच परिवार भारत गएका छन् । मोहन, राजु, गणेश, पप्पु र भरत बादी घरमा ताल्चा लगाएर भारत गएका हुन् । मोहन, राजु र पप्पु बादीले छोराछोरी बस्तीकै अरुका जिम्मामा छोडेका छन् ।

‘अरु परिवार श्रीमती छोराछोरी लिएर भारत गएका छन्,’ श्यामकुमाल बादीले भने, ‘तीन परिवारले मेरै जिम्मामा उनीहरुका केटाकेटी छाडेर गएका छन् ।’ भारतमा पुरुषले कुल्ली, चौकीदार, ज्यालादारी मजदुरी गर्छन् । महिलाले घर सरसफाइको काम गर्दै आएको छन् ।

बादी समुदायको पुर्ख्यौली पेसा सुल्पा, हुक्कालगायत माटोका भाँडा बनाउने हो । तर, समयक्रमसँगै त्यस्ता सामानले बजार नपाएपछि मजदुरीका लागि भारत जानुपरेको उनको भनाइ छ ।

‘विगतमा नाचगान गर्दै गाउँटोलमा माग्ने काम चलन पनि थियो, केहीले गाउँका जमिन्दारको हलो जोत्थे,’ उनले भने, ‘अहिले मागेर कसैले दिँदैनन् माग्न पनि नराम्रो लाग्छ, त्यो काम सबैले छोडिसके ।’

आर्थिक अवस्था कमजोर भएकाले बादी समुदायका बालबालिकाका नियमित विद्यालय जान सकेका छैनन् । विद्यालयले किताब निःशुल्क दिए पनि पोसाक, कापी, कलमलगायतका स्टेसनरी खरिद गर्न धौ–धौ छ ।

‘साँझ बिहानको खानाको छाक कटाएर शुःल्क तिर्दै आएका छौँ,’ स्थानीय बिष्ना बादीले भनिन्, ‘केही महिनाअघि सरस्वती पूजा भनेर बालबालिकाबाट १५० रकम विद्यालयले लियो, परीक्षा शुल्क भनेर अरु पैसा पनि लिन्छन् ।’

विद्यालयले भर्ना र मासिक शुःल्क लिने गरेकाले मजदुरी गरेको पैसाले घरखर्च चलाउने कि बालबालिकालाई पढाउने समस्या हुने उनको दुखेसो छ ।

बादी समुदायको बस्ती निकुञ्जसँगै जोडिएको छ । हात्तीलगायतका जंगली जनावरको त्रास उत्तिकै छ । हात्ती आएको थाहा पाउन रातको समयमा बस्तीका घर देखिने बत्तीको माग गर्दै आए पनि व्यवस्था नभएको उनीहरुको गुनासो छ ।

स्याली नदीले बर्सेनि जग्गा कटान गरिरहेको छ । बस्ती सुरक्षित बनाउन तटबन्धको माग गरे पनि पूरा नभएको पविसरा बादीले बताइन् ।

विकास साझेदार र सरकारी निकायले सीपमूलक, आयआर्जन र रोजगारमूलक कार्यक्रममा गर्जमुनिका बादी समुदायलाई समेट्न नसकेको पविसराको आरोप छ । सुरक्षित आवास कार्यक्रमअन्तर्गत सम्पन्नले घर बनाए तर बादी समुदाय वञ्चित भए ।

स्थानीय सरकारले सञ्चालन गर्ने सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत बादी समुदायलाई नसमेटिएको उनीहरुको दुखेसो छ ।

विपन्नका लागि कम्बल वितरण गर्ने कार्यक्रम नगरपालिकाले १२ वटै वडामा गरे पनि बादी समुदाय वञ्चित भएका छन् । गर्जमुनिका बादी समुदायसँग घरवासका लागि दुईदेखि तीन कठ्ठा जग्गा छ । केही परिवारले मजदुरी गरी घर बनाउन थाले पनि पूरा गर्न सकेका छैनन् । सामाजिक विभेद उत्तिकै छ ।

बादी समुदायलाई खाना पकाउन आगो बाल्नसमेत समस्या छ । ‘निकुञ्जबाट दाउरा ल्याउन गए जरिवाना स्वरुप पाँच सय तिराइन्छ, सामुदायिक वनबाट दाउरा पाइँदैन,’ पविसराले भनिन्, ‘बस्तीमा खानेपानीको  अभाव छ । पहिला होटलमा चिया खाए गिलास धुनुपर्ने अवस्था थियो । त्यो भने हटेको छ ।’

गर्जमुनिका वडाध्यक्ष चक्रबहादुर खड्काले बादी समुदायका लागि ५० हजार बजेटको व्यवस्था गरेको बताए । बादी समुदायकै मागको आधारमा विनियोजित बजेटको कार्यक्रम बनाएर लागू गरिने उनले जानकारी दिए ।