• Menu

उमेर पुगेपछि मात्र बिहे गर्नेलाई ५० हजार पुरस्कार

नेपाल प्रफिट

२०८० चैत ५, सोमबार १६:२७

उमेर पुगेपछि मात्र बिहे गर्नेलाई ५० हजार पुरस्कार

महोत्तरी । महोत्तरीको बर्दिबास नगर क्षेत्रमा उमेर पुगेरमात्र बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार रुपैयाँ नगद प्रोत्साहन पाउने भएका छन् । बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा १०८ जनाको लघुजीवन बिमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले प्रोत्साहन रकम घोषणा गरका हुन् ।

‘छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले ५० हजार नगद प्रोत्साहन रकम दिनेछ,’ उनले भने, ‘यसले तपाईंहरुको स्वास्थ्य र परिवार राम्रो बन्नेछ ।’ यो कार्यक्रम नगर क्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले बताए ।

नगर क्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष र महिला दुवैलाई यो रकम उपलब्ध गराइने उनले जानकारी दिए । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भए पनि मुसहर बस्तीमा बालविवाह भने यथावत् छ ।

अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरुको तीन वर्षे लघुजीवन बिमाबापत रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ एक लाख १९ हजार ३४५ रुपैयाँ जम्मा गरेको छ । बिमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स बर्दिबास शाखामा गरिएको छ ।

नगर प्रमुख क्षत्रीसहित बिमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बिमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बिमा गराइएको नगरपालिकाले जनाएको छ ।

बिमितले तीन वर्षपछि भवितव्य पर्दा एक लाख नगद पाउने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिए ।

नगरपालिकाले बिमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताइन् । सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बिमा गरिदिएकोमा खुसी व्यक्त गरे ।

मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएरमात्र बिहे गर्न सल्लाह दिने बताइन् । बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउन्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्