• Menu

उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, ६ महिनाकी बालिकाको घटनास्थलमै गयो ज्यान

नेपाल प्रफिट

२०८० चैत १, १६:५७

उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, ६ महिनाकी बालिकाको घटनास्थलमै गयो ज्यान

भोजपुर । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप उदयपुरमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ की ७० वर्षीया पर्वतमाया राई र सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई छन् ।

त्यस्तै ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी-९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राईको सनाखत भएको डीएसपी पाठकले जानकारी दिए । किशनको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सात जना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको पाठकले बताए । घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को १ ज २५९३ नम्बरको जिप बिहीबार बिहान १०:३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।