• Menu

एक महिनामा १८ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन, ५५ लाख भेटी संकलन

नेपाल प्रफिट

२०८० फागुन ३०, बुधबार २१:२८

एक महिनामा १८ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन, ५५ लाख भेटी संकलन

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख रुपैयाँ भेटी संकलन गरेको छ । फागुनमा पाथीभरा मन्दिर दर्शनार्थीबाट ५५ लाख ७० हजार ८८० रुपैयाँ संकलन भएको हो ।

फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको छ । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

यस्तै एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेका छन् । केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।

पाथीभरामा संकलन भएको सुनचाँदी भने लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा छ । फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।