एजेन्सी । अमेरिकी प्रतिबन्धबाट भेनेजुएलाले कुल गार्हस्थ्य उत्पादनमा झन्डै ७ खर्ब अमेरिकी डलर नोक्सान व्यहोर्नुपरेको छ । उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले यसबारे सोमबार जानकारी गराएका हुन् ।
प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २ खर्ब ३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै, अन्तर्राष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का गरिएको उपराष्ट्रपतिले बोलिभियाली सहर सान्ता क्रुज डे ला सिएरामा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा बताएका छन् ।
सन् २०२३ अक्टोबरमा सरकार र भेनेजुएलाका विपक्षी दलहरूबीच भएको बार्बाडोस सम्झौतामा अमेरिकाले प्रतिबन्ध हटाउने सहमति गरे पनि पालाना नभएको उनको गुनासो छ ।
उक्त सम्झौताले ‘जनरल लाइसेन्स ४४’ का नामले चिनिने राहत भेनेजुएलालाई उपलब्ध भए पनि राष्ट्रपति निकोलस मादुरोले विपक्षी दलबाट राष्ट्रपतिको उम्मेदवारको दौडमा रहेका नेतालाई चुनावमा अगाडि बढ्न प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनले भेनेजुएलामाथि पुनः प्रतिबन्ध लगाएको थियो ।
अमेरिकाको पछिल्लो कदम विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवार हुनबाट प्रतिबन्ध लगाउने मादुरोको निर्णयको प्रतिक्रियामा आएको थियो । गोष्ठीमा उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी एकपक्षीय नीतिहरूलाई ध्यानमा राख्दै अब ल्याटिन अमेरिकालाई ‘अनिवार्य’ नयाँ वित्तीय संरचना चाहिएको बताए ।
‘हामी नयाँ वित्तीय संरचनाको बारेमा सोच्न चाहन्छौं भने हामीले आफ्नै मुद्रामा व्यापार गर्नुपर्छ,’ उनले भने ।