एजेन्सी । दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।
चिकित्सकको संख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सुरु भएको हड्तालले दक्षिण कोरियामा चिकित्सकको अभाव र दक्षिण कोरियाको बढ्दो वृद्ध जनसंख्याको सामना गर्न आवश्यक जनशक्तिको अभाव भएको छ ।
चिकित्सकहरूले सरकारी योजनाले चिकित्सकीय सेवाको गुणस्तर घटाउने तर्क गरेका छन् । सरकारको कार्यादेश र कानुनी कारबाहीको धम्कीको बाबजुद करिब १२ हजार जुनियर चिकित्सक अर्थात् प्रशिक्षार्थी चिकित्सकको ९३ प्रतिशत सरकारको अन्तिम गणनामा उनीहरूको अस्पतालमा सेवारत छैनन् ।
प्रशिक्षार्थी चिकित्सकको आन्दोलनले सियोललाई राज्यको भण्डारमा रहेको लाखौँ अमेरिकी डलर र सैन्य चिकित्सकलाई परिचालन गरी सर्वसाधारणलाई सहयोग गर्न बाध्य बनाएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार हजारौं प्रशिक्षार्थी चिकित्सकलाई अस्पताल फर्कन भनिएको विशेष आदेशको अवज्ञा गरेपछि चिकित्सकलाई मेडिकल लाइसेन्स निलम्बन गर्ने कारबाहीको पहिलो कदमका रूपमा प्रशासनिक सूचना पठाएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य तथा चिकित्सा नीति महाशाखाका निर्देशक चुन बयुङ–वाङले भने, ‘मार्च ८ सम्ममा चार हजार ९०० भन्दा बढी प्रशिक्षार्थी चिकित्सकलाई सेवामा फर्किन सूचना पठाइएको छ ।’
सरकारले यसअघि नै हड्तालमा उत्रिएका चिकित्सकलाई तीन महिनाका लागि लाइसेन्स निलम्बन गर्ने चेतावनी दिइसकेको थियो । यसका कारण विशेषज्ञका रूपमा योग्य हुन सक्ने क्षमता कम्तीमा एक वर्ष ढिला हुने बताइएको छ ।
‘प्रशासनिक व्यवस्था पूरा हुनुअगावै काममा फर्किएमा प्रशिक्षार्थी चिकित्सकलाई सरकारले परिस्थितिलाई ध्यानमा राखेर संरक्षण गर्नेछ,’ उनले भने, ‘अहिले काममा फर्कने चिकित्सक कारबाहीबाट बच्न सक्छन् ।’ सरकारले चिकित्सा सुधारको सहयात्रीका रूपमा चिकित्सा क्षेत्रको विचारलाई सम्मान गर्ने र विशेष रूपमा मनन गर्ने उनले बताए ।
सरकारले गत हप्ता प्रशिक्षार्थी चिकित्सकहरूको तलब र सर्तहरू सुधार गर्न नयाँ उपायहरूको घोषणा गरेको थियो र यसको साथै लगातार ३६ घण्टा कार्य अवधिको समीक्षा गर्ने बताएको थियो । यसले जुनियर चिकित्सकको पक्षमा काम गर्ने अधिकारीहरूको भनाइ छ ।
चिकित्सकको हड्तालका कारण धेरै शल्यक्रिया सेवा रद्द हुनु र सेवाका लागि लामो समय पर्खनुपर्नेजस्ता प्रमुख अस्पतालका सेवामा ढिलाइ भएको छ ।
सियोलले सैन्य चिकित्सकहरू परिचालन गरेको छ र सेवाको कमीलाई न्यूनीकरण गर्नको लागि राज्य कोषबाट लाखौं डलर विनियाजन गरेको छ तर त्यहाँ पूर्ण स्वास्थ्य संकट छ भन्ने कुरा अस्वीकार गरेको छ ।
दक्षिण कोरियाको कानुनअनुसार चिकित्सकलाई हड्ताल गर्न प्रतिबन्ध लगाइएको छ । स्वास्थ्य मन्त्रालयले प्रहरीलाई काम रोक्ने सम्बन्धित चिकित्सकमाथि अनुसन्धान गर्न भनेको छ ।
सरकारले विकसित राष्ट्रहरूमध्ये सबैभन्दा कम चिकित्सक–जनसंख्या अनुपातलाई सम्बोधन गर्न आगामी वर्षदेखि वार्षिक दुई हजारभन्दा बढी विद्यार्थीलाई मेडिकल विद्यालयमा भर्ना गर्ने तयारी गरेको छ ।
चिकित्सकहरूले सरकारको सुधारको प्रयासले सेवाको गुणस्तर र चिकित्सा शिक्षालाई खस्काउने डर व्यक्त गरेका छन् । तर, सरकारको कार्यक्रमका अनुयायीहरूले चिकित्सकहरूले उनीहरूको तलब र सामाजिक स्थितिलाई सुरक्षित राख्न आन्दोलन गरिरहेको आरोप लगाएका छन् ।