काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १३ अंकले बढेको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री नियुक्त भएपछि दोस्रो दिन लगातार सेयर बजार बढेको हो ।
बिहीबार होटल तथा पर्यटन, व्यापार एवं म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेका छन् । बुधबार ९ अंकले बजार बढ्दा घटेको बैंक समूह पनि आज बढेको छ ।
नेप्से परिसूचक आज १३.५१ अंकले बढेर २०३०.५५ अंकमा उक्लिएको छ । बजार बढ्दा १७६ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ५९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकम सामान्य घटेको छ । बुधबार ३ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।