काठमाडौं । एनआईसी एसिया बैंकसँगको सहकार्यमा मोरङ जिल्ला क्रिकेट एसोसिएसनले राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजनाको घोषणा गरेको छ ।
बैंक र एसोसिएसनका प्रतिनिधिले विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा फागुन २२ देखि चैत ३ सम्म राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजनाको घोषणा गरेका हुन् ।
मंगलबारदेखि सुरु भएको राष्ट्रिय टी २० च्याम्पियनसिपमा एनआईसी एसियाका ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख सरोज भट्टराईले नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पुर्याएको गहिरो महत्वलाई एनआईसी एसिया बैंकले बुझेको बताए ।
‘नेपाली जनमानसको मन-मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको छ । यस गौरवमय प्रतियोगिताको एउटा प्रमुख साझेदार बन्ने सुअवसर हामीलाई प्राप्त भएकोमा हामी निकै नै हर्षित छौं,’ उनले भने ।
त्यस्तै, एसोसिएसनका अध्यक्ष एमडी साद कुरेसीले एनआईसी एसिया बैंकको सहकार्यमा प्रतियोगिता आयोजना गर्न पाएको खुसी व्यक्त गरेका छन् । खेलको प्लेयर अफ द म्याचको रकम एनआईसी एसियाको क्यूआर कोडबाट भुक्तानी हुने आयोजकले जनाएको छ ।