• Menu

एकीकृत समाजवादीलाई गठबन्धनमा समेट्ने पक्षमा एमाले, ओलीले बालुवाटारबाटै माधव नेपाललाई गरे फोन

नेपाल प्रफिट

२०८० फागुन २२, ११:०८

एकीकृत समाजवादीलाई गठबन्धनमा समेट्ने पक्षमा एमाले, ओलीले बालुवाटारबाटै माधव नेपाललाई गरे फोन

काठमाडौं । नेकपा एमाले पनि नेकपा एकीकृत समाजवादी (एस)लाई गठबन्धनमा समेट्न तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीलाई गठबन्धनमा समेट्न तयार भएका हुन् ।

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन नै गरेर स्वास्थ्य लाभको कामना गर्नुका साथै गठबन्धनमा समेट्ने विषयमा आफू पनि तयार रहेको जानकारी गराएका हुन् ।

पार्टी विभाजनयता पहिलोपटक ओलीले सोमबार साँझ नेपाललाई फोन गरेका हुन् । यससँगै ओली र नेपालबीचको सम्बन्धमा छाएको तिक्तता मेटिने एको छ ।

बालुवाटारमा सोमबार बसेको बैठकमा सरकारलाई सहज बहुमत पुर्‍याउनका लागि नेकपा एसलाई पनि समेट्नुपर्ने विषयमा छलफल भएको थियो । छलफलपछि अन्य नेताहरूसँगको सल्लाहमा प्रधानमन्त्री प्रचण्ड माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपालको निवास गएका थिए ।

प्रचण्ड र श्रेष्ठ हिँडेपछि ओलीले बैठक कक्षबाटै नेपाललाई फोन गरेर पहिला स्वास्थुय लाभको कामना गरेका थिए ।

‘अस्वस्थ हुनुहुँदोरहेछ, स्वास्थ्यलाभको कामना छ, म आउन पाइन, प्रचण्डजी आउनुभएको छ, उहाँले राख्ने कुरा मेरो पनि हो है,’ ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक एमाले नेताले भने । जवाफमा नेपालले ‘छलफल गर्न सकिने’ प्रतिक्रिया दिएका थिए ।