काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । शीतलनिवासमा बिनाविभागीय मन्त्रीका रुपमा हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले सोमबार साँझ शपथ लिएका हुन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
माओवादी केन्द्रबाट तामाङ, नेकपा एमालेबाट गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्यालले शपथ लिएका छन् । उनीहरुलाई मन्त्रालयगत जिम्मेवारी दिइएको छैन ।
तामाङ नुवाकोट-१ बाट निर्वाचित माओवादी सांसद हुन् । एमाले पर्वतका सांसद एवं प्रमुख सचेतक गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । रास्वपा उपसभापतिसमेत रहेका अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री बनेका थिए ।
नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका हुन् ।